काठमाडौँ, २७ मङ्सिर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरी बसेको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा सुरू भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उहाँले भदौ २३ र २४ गतेको घटनापछि नेकपा (एमाले) र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रहार भएको भन्दै उक्त प्रहारले एमाले कमजोर नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो कतिपयलाई लागेको थियो अब नेकपा (एमाले)को भविष्य समाप्त भयो भनेर । हामी सरकारबाट बाहिरिएका हौँ तर नेपाली जनताको मनमा गहिरो गरी बसेका छौँ । आजको सभाले पनि एमाले कमजोर भएको छैन भन्ने कुरा पुष्टि गरेको छ ।”
यस्तै, उहाँले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेकपा (एमाले)ले संकल्प गरेको छ मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध अगाडि बढ्ने छौँ र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने छौँ भन्ने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएका छौँ ।”
नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको र मुलुकमा एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि वा प्रतिगमनतर्फ धकेल्ने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गरेको पनि उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गरिरहेका छौँ । जतिबेला देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको ऐतिहासिक संविधान सभाबाट निर्माण भएको ऐतिहासिक संविधान घायल भएको छ । नेपाली जनताले दशकौँ लामो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र कमजोर बनाइएको छ । नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको छ र एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि धकेल्ने, प्रतिगमनतर्फ लैजाने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गर्दै छौँ ।’