काठमाडौँ, २३ मङ्सिर । ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धाराबाट भागेका एक व्यक्ति सोमबार पक्राउ परेका छन् । वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भइ कारागारमा सजाय भुक्तान गर्दै आएका र भदौ २४ गते भागेका ती व्यक्तिलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–८ घर भइ हाल मनमैजु बस्ने २२ वर्षका सविन गुरुङ रहेका छन् । निजलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गुरुङविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको विसं २०८१ भदौ २८ गतेको फैसलाले छ वर्ष कैद सजाय तोकेको थियो । निजलाई सोमबार नै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।