कपिलवस्तु, २२ मङ्सिर । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले लैङ्गिक आधारमा हिंसाको सामाना गरिरहेका महिलामाथि ‘डिजिटल’ हिंसा थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले आज आयोजना गरेको ‘डिजिटल प्रविधिको सही प्रयोगसम्बन्धी अन्तरक्रिया’ मा उहाँले सूचना–प्रविधिको दुरुपयोग हुँदा युवती, महिला, यौनिक अल्पसङ्ख्यक तथा संवेदनशील समूहका व्यक्तिले नयाँ प्रकारका हिंसाको सामना गर्नुपरेको बताउनुभयो ।
उपाध्यक्ष घिमिरेले आक्रमक टिप्पणी, गालीगलौज तथा अपमानजनक प्रतिक्रियाहरूका कारण धेरै युवतीहरू सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्न पनि डराउने स्थिति उत्पन्न भइरहेको बताउनुभयो । “डिजिटल हिंसाले व्यक्तिको मानसिक स्वास्थ्यमा मात्र होइन, सामाजिक सहभागिता, आत्मविश्वास, पेसागत अवसर र नेतृत्व क्षमतामा समेत गम्भीर असर पारिरहेको छ”, उहाँले भन्नुभयो,“डिजिटल प्रविधि झनै उन्नत बन्दै जाँदा हिंसाका नयाँ–नयाँ रूप देखा पर्नसक्ने र महिला, नेतृ, पत्रकार, जनप्रतिनिधि तथा सार्वजनिक व्यक्तित्वविरुद्ध चरित्र हत्या हुने अवस्था छ । यसबारे समयमै सचेत हुन आवश्यक छ ।”
उपाध्यक्ष घिमिरेले डिजिटल हिंसा कुनै काल्पनिक समस्या नभई महिला, किशोरी र हजारौँ नागरिकले दैनिक भोगिरहेको वास्तविकता भएको उल्लेख गर्दै यसको बदलिँदो स्वरुपअनुसार रोकथामका रणनीति अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो ।