माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

23

म्याग्दी, २२ मङ्सिर । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

अपर म्याग्दी हाइइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत्‌गृह निर्माण कार्यले तिब्रता पाएको छ । आयोजना प्रमुख ज्योतिकुमार केसीले एक वर्षको अवधिमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो ।

“चार ठाउँबाट सुरुङ खन्ने काम भैरहेको छ,” उहाँले भन्नुभयो, “विस २०८३ फागुन भित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यअनुसार विद्युत्‌गृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएका छौँ ।” कुल पाँच हजार ७८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म दुई हजार तीन सय ६० मिटर निर्माण सकिएको छ ।

विसं जेठ ८ गते सुरु भएको बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । करिब दुई हप्तामा विद्युत्‌गृहको उत्खनन् कार्य सकेर संरचना निर्माणको तयारी भएको छ । विसं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो ।

धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ । बाँध निर्माण स्थल नजिकै एक सय मिटर लामो र १५ मिटर अग्लो तीन वटा पानी थिग्राउने पोखरी निर्माणाधिन छ ।

मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनौट भएको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटबाट विद्युत्‌गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत्‌गृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ ।

ऊर्जा इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट सोलुुसनले परामर्शदाता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमा आवद्ध छ । विद्युत्‌गृहबाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन १३२ केभी क्षमताको सबस्टेसन जोड्ने १३२ केभी क्षमताको एक दशमलव पाँच किलोमिटर प्रशारण लाइनको अध्ययन भइरहेको छ ।

सानीमा बैङ्कको नेतृत्वमा छ वटा बैङ्कको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रूपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत्‌गृह मालिका गाउँपालिका–७ भारवाङमा रहने छ । यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

भारवाङबाट बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि छ करोड २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । हालसम्मको प्रगतिअनुसार निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख केसीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...