जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी

14

तनहुँ, २२ मङ्सिर । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो । विभिन्न कठिनाइका बीचमा पनि सेवा प्रवाह नरोकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो । यस पश्चात् केहीदिन सेवा प्रवाह पूर्णरुपमा अवरुद्ध समेत भएको थियो । केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रुपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ ।

उहाँका अनुसार पाँच हजार ३८८ जनालाई राष्ट्रिय परिचयपत्र, तीन हजार ६५९ जनालाई राहदानी, तीन हजार ६०७ जनालाई नागरिकता, एक हजार २१३ जनालाई सिफारिस/प्रमाणीकरण सेवा प्रदान गरिएको छ ।

यस्तै, ४३४ जनाको गुनासो सम्बोधन, ३९८ जनालाई संस्था दर्ता र नवीकरण, १४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

तीन हजार नागरिकता वितरण, छ जनाद्वारा परित्याग
यस्तै, तीन महिनाका अवधिमा तीन हजार ६०१ जनालाई नागरिकता वितरण गरेको छ । साउनदेखि असोजसम्म एक हजार ७२४ नयाँ र एक हजार ८७७ प्रतिलिपि वितरण गरिएको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार नयाँ नागरिकतातर्फ एक हजार सात सय १४ जनालाई वंशज (बाबुको आधारमा), पाँच जनालाई वंशज (आमाको आधारमा), तीन जनालाई गैरआवासीय र दुई जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको छ । ९३३ महिला र ७९१ पुरुषलाई नागरिकता वितरण गरिएको छ

प्रतिलिपितर्फ वंशजका आधारमा ९२० महिला र ९५७ पुरुष गरी एक हजार ८७७ जनालाई नागरिकता वितरण गरिएको छ । प्रजिअ अधिकारीका अनुसार त्यस अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन् ।

गत साउनमा एक हजार ४७९, भदौमा एक हजार ३६ र असोजमा एक हजार ८६ जनालाई नागरिकता वितरण गरिएको उहाँले बताउनुभयो । सोही अवधिमा १४० नाबालक परिचयपत्र वितरण गरिएको छ । अधिकारीका अनुसार नयाँ दर्तातर्फ १३५ र प्रतिलिपितर्फ पाँच जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ ।

यस्तै कार्यालयले एक हजार ६५३ राहदानी वितरण गरेको छ भने दुई हजार जनाको विवरण सङ्कलन गरेको छ । पाँच हजार ३८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण सङ्कलन गरिएको छ भने १० हजार ५३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...