जेनजीका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा जाँदैछ : पद्‌मा अर्याल [भिडिओ]

1
  • सन्तोषी रावल

काठमाडौँ, १९ मङ्सिर । नेकपा (एमाले)को आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्‌मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेण्डाहरु समय सापेक्षित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महाधिवेशन केवल आन्तरिक संरचना नवीकरणको प्रक्रिया मात्र नभएर, नेपाली राजनीतिको अस्थिरताबीच ‘दिशानिर्देशन’ गर्ने अवसर पनि भएको औँल्याउनुभयो ।

विधान महाधिवेशनबाट पारित नीतिहरू अनुमोदन गर्नु र पार्टीको भावी नेतृत्वको चयन गर्नु नै राष्ट्रिय महाधिवेशनको केन्द्रबिन्दु भएकाले अब दीर्घकालीन राजनीतिक कोर्ष तयार हुने उहाँको भनाइ थियो ।

“विधान महाधिवेशनले विधि र नीतिसम्बन्धी महत्त्वपूर्ण एजेन्डा तय गरेको, सोचेअनुसार निष्कर्षमा पुगेकाले अब राष्ट्रिय महाधिवेशन नेतृत्व समायोजन र दीर्घकालीन राजनीतिक कोर्स निर्धारणतर्फ केन्द्रित हुनेछ । महाधिवेशन उद्घाटनपछि नेतृत्व चयन नै प्रत्यक्ष बहसको एजेन्डा बन्ने र मुलुकको वर्तमान चुनौती सम्हाल्न सक्षम, एकीकृत, प्रतिनिधिमूलक नेतृत्व चयन गर्नु नै यसपटकको मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो ।

उहाँले एमालेलाई ‘सबै उमेर, क्षेत्र र समुदायको साझा फूलबारी’को रूपमा व्याख्या गर्दै, युवादेखि परिपक्व पुस्तासम्मको सन्तुलित सहभागिता सुनिश्चित गर्नु नेतृत्व चयनको आधार मानिने बताउनुभयो ।

मंसिर २३ र २४ गते देखिएको नवयुवा अभियानपछि पार्टीले युवापुस्तालाई अझै निर्णायक रूपमा वा कार्यकारी तहमा ल्याउनुपर्ने आवश्यकता महसुस गरेको उहाँको भनाइ छ ।

केही नेताहरूले पदप्रति आकांक्षा प्रकट गरेको र उम्मेदवारी घोषणा भएको सन्दर्भमा अर्याल भन्नुहुन्छ, “यो नै लोकतान्त्रिक अभ्यासको सही समय हो । आकांक्षा राख्न पाउनु र खुला बहस गर्नु आन्तरिक लोकतन्त्रको सकारात्मक अभ्यास हो ।”

उहाँका अनुसार महाधिवेशनसम्म पुग्दा पार्टी एकीकृत निष्कर्षमा उभिन्छ र प्रतिस्पर्धा तथा सहमति दुवै विधिलाई सम्मान गर्दै नेतृत्व चयन अघि बढ्छ ।

गुटबन्दीका सवालमा उहाँले दशौँ राष्ट्रिय महाधिवेशनपछि एमालेभित्र स्थायी गुटको अस्तित्व नरहेको स्पष्ट पार्नुभयो । विगतमा महाधिवेशनको प्रतिस्पर्धासँग जोडिएका समूहहरू कहिलेकाहीँ गुटका रूपमा सक्रिय हुने अवस्थालाई पार्टीले विगत केही वर्षमा पूर्णरूपमा संस्थागत रुपमा अन्त्य गरेको उहाँको दाबी छ ।

अहिले उठिरहेका नेतृत्वसम्बन्धी चासोलाई उहाँले ‘स्वस्थ बहस’को रूपमा लिनुभएको छ । उहाँका अनुसार एमालेलाई आज आवश्यक नेतृत्व त्यही हो, जो आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय चुनौतीहरू सामना गर्न सक्षम होस् । महिला सहभागिताबारे बोल्दै उहाँले पार्टीले ३३ प्रतिशत सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याइसकेको र धेरै ठाउँमा महिला नेतृहरू ‘फस्र्टमेन’ वा कार्यकारी नेतृत्वका भूमिकामा सक्रिय रहेको जानकारी दिनुभयो ।

सहभागिता बढाउनु मात्रै होइन, महिलाहरूको क्षमता विकास, नेतृत्व पकड र दक्षता अभिवृद्धिलाई पार्टीले निरन्तर प्राथमिकता दिएको उहाँले बताृउनुभयो । “हिजो एक जना महिला राखेर मात्र सहभागी गराइएको थियो, आज महिलाहरूबीच नै प्रतिस्पर्धा भइरहेको छ । अब लक्ष्य समानतासहितको नेतृत्व हो,” उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक संलग्नता विषयमा प्रतिक्रिया दिँदै अर्यालले संवैधानिक व्यवस्थाले राष्ट्रपतिलाई पूर्ण तटस्थ हुनुपर्ने भन्दै सक्रिय पार्टी राजनीतिमा फर्किने विषय संवैधानिक मर्यादासँग जोडिएको बताउनुभयो ।

एमालेले राष्ट्रपतिलाई विवादित भूमिकामा नल्याउने नीति लिएको उल्लेख गर्दै, ‘उहाँले व्यक्तिगत रूपमा व्यक्त गरेको इच्छा छलफलको विषय हुन सक्छ, तर अहिले तत्काल पुनर्विचार गर्ने परिस्थिति देखिँदैन ।’

राष्ट्रिय राजनीतिक अवस्था र हालको अस्थिरताका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरिन् । संसद्‌ विघटन, शक्ति सन्तुलनमा आएको अव्यवस्था, आर्थिक मन्दीको संकेत, जनअसन्तुष्टि तथा जेनजी आन्दोलनका मागहरू सम्बोधन नहुँदा मुलुक अनिश्चितताको खाडलमा फसिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “आज मुलुक कमजोर छ । राष्ट्रिय स्वाभिमान नै चुनौतीमा परेको छ । यस्तो अवस्थामा एमाले सानो राजनीतिक स्वार्थमा चल्दैन । राष्ट्र, स्वाभिमान र अखण्डता जोगाउनु नै पहिलो दायित्व हो ।”

उहाँका अनुसार मुलुकलाई निकास दिन संसद्‌ पुनःस्थापना, जेनजीसमेत समेटिएको राष्ट्रिय सरकार गठन र कानुनी बाटोबाट समाधान खोज्नु नै सही उपाय हो । संसद्‌ विघटनले अनावश्यक भागदौड र अनिश्चितता सिर्जना गरेको उल्लेख गर्दै उहाँले विधि र प्रक्रियाबाट मात्रै मुलुक सही दिशामा जान सक्ने बताउनुभयो ।

आर्थिक संकट र असन्तुष्टि बढ्दै गए राज्यको संरचना नै धराशायी हुने खतरा बढ्ने भन्दै उहाँले राजनीतिक स्थायित्वलाई अनिवार्य रुपमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

महाधिवेशन, पार्टी एकता, नेतृत्व छनोट र राष्ट्रिय संकट यी सबै मुद्दाहरूमा सचिव अर्यालको प्रष्ट, ठोस र विश्लेषणात्मक अभिव्यक्तिले एमालेभित्र मात्रै होइन, समग्र नेपाली राजनीतिक परिवेशमा पनि महत्त्वपूर्ण सन्देश प्रवाह गर्न सक्ने अनुमान पनि गरिन्छ । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...