काठमाडौँ, १८ मङ्सिर । काठमाण्डु गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफ पुगेको हो ।
काठमाण्डुलाई प्लेअफमा पुर्याउन आजको खेलमा भीम सार्कीले महत्त्वपूर्ण भूमिका निभाए । उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सार्कीले ‘प्लेयर अफ दी म्याच’को पुरस्कार पनि जिते ।
प्लेअफमा पुगेपछि भीमले टोलीको तालमेल मिल्दा जित सहज भएको बताए । सुरुवातका खेलमा तालमेल त्यति राम्रोसँग नमिल्दा जित कठिन भएको उनको भनाइ थियो । आज टोलीले योजना बनाए अनुसार नै नतिजा आएको सार्कीले बताए ।
यस्तै, प्रशिक्षक मोन्टी देसाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकार रहेकाले त्यसको फाइदा काठमाण्डुलाई पुगेको सार्कीले बताए ।
पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले ब्याटिङ नचल्दा जित्नैपर्ने खेलमा हार बेहोर्नुपरेको बताए । शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसक्दा पराजित हुनु परेको र आगामी खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिने उनको भनाइ थियो ।