झापा, १८ मङ्सिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट ६ अर्ब दुई करोड रूपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट छ अर्ब दुई करोड ७६ लाख ४५ हजार रूपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात गरिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रूपैयाँ अर्थात् दुई दशमलव ०१ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् आठ करोड ४१ लाख २२ हजार रूपैयाँले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।
चालु आवको चार महिनामा पेट्रोलियम पदार्थ आयातबाट दुई अर्ब ९६ करोड ८१ लाख ४५ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा तीन अर्ब १० करोड ५४ लाख रूपैयाँ मूल्य पर्ने ३५ हजार १५६ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी एक अर्ब ७४ करोड ६८ लाख रूपैयाँ मूल्य पर्ने १८ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ ।
यस्तै, उक्त चार महिनाको अवधिमा ८२ करोड ६३ लाख रूपैयाँ मूल्य पर्ने आठ हजार ५५७ मेट्रिक टन एलपी ग्यास, २६ करोड ३३ लाख रूपैयाँ मूल्य पर्ने दुई हजार ९०८ किलोलिटर एटिएफ र चार करोड ६१ लाख रूपैयाँ मूल्य पर्ने ५०८ किलोलिटर मट्टितेल आयात भएको छ ।