मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

8

धनुषा, १७ मङ्सिर । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदत्याग गर्नुभएको छ ।

विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उहाँले आज प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गर्नुभएको हो । यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभा सबैभन्दा ठुलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

बर्दिबासस्थित पानस कटेजमा बिहानै यादवको नियुक्ति र शपथ ग्रहणसमेत भएपछि यसले राजनीतिक विवाद झनै बढाएको थियो । त्यसकै बीच सङ्घीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सिफारिस गरेको थियो ।

विश्वासको मत प्रक्रियाका क्रममा विपक्षी सात दलका सांसद बैठकमा उपस्थित भएनन् । पूरा विपक्षी बेञ्च खाली रहँदा एमालेका सांसद मात्र बैठकमा देखिए । राप्रपाकी मन्त्री कञ्चन बिच्छा र नेपाल सङ्घीय समाजवादी पार्टीकी मन्त्री विमला अन्सारी पनि उपस्थित हुनुभएको थियो ।

राजीनामा दिनुअघि मुख्यमन्त्री यादवले आफ्नो नियुक्ति नै बाध्यात्मक रहेकाले विश्वासको मत अनिवार्य रूपमा लिनुपर्ने स्थिति नरहेको दाबी गर्नुभयो । आफ्नो २२ दिनको कार्यकाल जनतामुखी काममा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “म कुर्सीसँग होइन, सांसदहरूसँग विश्वासको मत लिने हो । तर, उनीहरू बैठकमै आएनन् । त्यसैले राजीनामा घोषणा गर्दछु ।”

बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवले राजीनामा घोषणा गरिसकेको हुँदा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनुपर्ने आवश्यता नरहेको बताउँदै सभा स्थगित गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...