काठमाडौँ, १७ मङ्सिर । उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उहाँले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस् भन्नका लागि सबै सही ठाउँमा आउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हाम्रो देश अन्धकारमा हुँदा, आज म उज्यालो बत्तिमुनि उभिएको छु । अब हामी एकजुट भएर अगाडि बढेनौँ भने राज्यले सधैँ हामीमाथि दमन गर्ने छ । त्यसकारण नयाँ सोच, नयाँ जागरणका साथ सबै जना अगाडि बढौँ । भदौ २३ र २४ गते जुन भाइबहिनीको रगत बगेको छ त्यो खेर नजाओस् भन्नका लागि हामी सबै सही ठाँउँमा आउन आवश्यक छ ।”
यस्तै, उहाँले आफू पनि बेपत्ता पीडितको छोरी भएको भन्दै क्षतिपूर्ति न्याय नभएको बताउनुभयो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति पाए पनि गोली हान्ने हत्याराहरु रमाएर हिँडिरहेको भन्दै क्षतिपूर्ति दिनु होइन तिनीहरुलाई कठघरामा लानु न्याय भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “म एउटा बेपत्ता पीडितको छोरी हो, त्यसकारणले पनि जेनजी आन्दोलनमा ज्यान गुमाउने परिवारहरुलाई के भन्न चहान्छु भने समय यही नै हो । अहिले आवाज उठाउन सकिएन भने न्याय पाउन गाह्रो हुन्छ र क्षतिपूर्ति न्याय होइन मैले पनि मेरो बुबा बेपत्ता हुँदा १० लाख पाएको हो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति त पाए तर गोली हान्ने हत्याराहरु रमाएर हिँडिरहेका छन् । तिनीहरुलाई कठघरामा लानु न्याय होकि क्षतिपूर्ति न्याय हो ।”
साथै, उहाँले कतिजनाले सडकबाट घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै राजनीतिमा आउनुपर्ने भन्दै प्रश्न गरिरहेको उल्लेख गर्दै राजनीति उमेरले होइन, पीडा, भोगाई र जीवनकालले सिकाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कति जनाले सडकबाट एकजना घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै तपाईं राजनीतिमा किन आउनु पर्ने, तपाईको उमेर कति नै भयो र राजनीतिमा आउन भनेर प्रश्न गर्नुभएको छ त्यसको जवाफ के दिन चहान्छु भने राजनीति भन्ने कुरा उमेरले होइन, पीडा आफ्नो भोगाइ र आफ्नो जीवनकालले सिकाउने कुरा हो ।”