देश र देशवासीको लागि उज्यालो दीप बनेर जल्ने प्रण लिएको छु : रिमा विश्वकर्मा

9

काठमाडौँ, १७ मङ्सिर । उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो नेता अब यो देशलाई खाँचो नभएको बताउनुभएको छ ।

बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उहाँले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई नचाहिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “यो देशको हालत हेरेर म कसैको भर गर्न सक्दिनँ । म आफ्नै मात्रै भर गर्न सक्छु । देश र देशवासीको लागि उज्यालो दीप बनेर जल्ने प्रण लिएको छु । मलाई थाहा छ यो यात्रा सहज छैन । आज देशले जवाफदेही नेतृत्व खोजिरहेको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने नेता अब यो देशलाई चाहिँदैन ।”

त्यस्तै, उहाँले आज दलको नाममा लडाउनेहरुले भोलि धर्म, लिङ्ग, समाज र समुदायको नाममा लडाइँरहने बताउँदै सिमानामा बसेर देश रक्षाका लागि लड्न आफूहरु तयार रहेको धारणा राख्नुभयो ।

“आज दलको नाममा लडाउनेहरुले भोलि हामीलाई धर्म, लिङ्ग, समाज र समुदायको नाममा लडाइँरहने छन् । हामी लड्न तयार छौँ तर सिमानामा बसेर देश रक्षाका लागि लड्ने छौँ । अब शक्ति र सत्ताको उन्मादमा बाँच्न पल्केका ब्वाँसाहरुको व्यक्तिगत स्वार्थका लागि हामी लड्दैनौँ ।”

त्यस्तै, उहाँले अहिले झोले भन्ने शब्दलाई अतिरञ्जित गरिएको भन्ने दलको होइन देशको झोले बन्न सुझाउनुभयो । पुराना दलहरुको असक्षमताको परिणाम स्वरुप नेपाली समाज भ्रष्टतन्त्रको सिकार भइरहेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...