- जनार्दन घिमिरे
गुल्मी, १७ मङ्सिर । जिल्लामा यस वर्ष २० करोड रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो ।
गत वर्ष २४ करोड ५० लाख रूपैयाँभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यस पटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिनुभयो । जिल्लामा यस वर्ष २० करोड ६७ लाख ८४ हजार रूपैयाँको सुन्तला उत्पादन भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषकले यस पटक अपेक्षा गरेअनुसार सुन्तला उत्पादन नभएको बताएका छन् । सुन्तलाखेतीबाट यहाँका कतिपय कृषकले वार्षिक पाँच लाख रूपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।
जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक दश करोड मूल्य रूपैयाँ बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुने कार्यालयले जनाएको छ । गुल्मीबाट गत वर्ष १३ करोड रूपैयाँ बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो ।
सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरुले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग÷किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाइ नहुनुु, समयमा सुन्तलाको बोट काँटछाट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिनुभएको छ ।
यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तलाखेती गर्दै आएका छन् । परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फेँद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताउनुभयो । सुन्तला बगैँचामा समयमै मलखादको व्यवस्थापन र सुक्ष्म तत्वको प्रयोग गर्नेहो भने उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ ।
जिल्लामा अधिकांश कृषकहरुले सुन्तला बगैँचामा बिजु बिरुवाहरु रहेका छन् । यहाँका सुन्तला बगैँचाहरुमा ९५ प्रतिशतभन्दा धेरै बिजु विरुवाका बोट छन् । कलमी बोटहरुले भन्दा बिजु बिरुवाले लामो समयसम्म फलदिने भएका कारण यहाँका कृषकले बिजु बिरुवाको प्रयोग गर्दै आउनुभएको हो ।
जिल्लामा सुन्तलाको कुल ८८५ हेक्टर क्षेत्रफलमध्ये हाल ६१५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गर्दछ । व्यावसायिक रुपमा भने सुन्तलाखेती गर्ने कृषकको सङ्ख्या त्यति धेरै छैन । जिल्लाका ९३ वडामध्ये ३६ वडामा सुन्तला जातका फलफूल जोन कार्यक्रम लागु भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि इन्जिनियर विष्णुप्रसाद पोख्रेलले बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा तथा सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खलेलगायतका ठाउँमा चक्लाबन्दी गरी व्यावसायिक सुन्तलाखेती सुरु गरिएको छ ।
गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुनेभएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुँदै आएको छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट व्यापारी घरमै पुगेर सुन्तलाको बगँैचा खरिद गर्ने गर्दछन् । अहिले बजारमा गुल्मीको सुन्तलाको थोक मूल्य ४० देखि खुद्रा मूल्य १०० रूपैयाँसम्म रहेको छ ।
सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रममार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।
सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले बताउनुभयो ।
जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मीदरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् । –रासस