काठमाडौँ, १६ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताउनुभएको छ ।
मंगलबार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँगको छलफलमा उहाँले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन । सरकार स्पष्ट छ । एकदमै स्पष्ट छ । त्यहीँ भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सैद्धान्तिक छलफलमा सहभागी भएका हौँ र दफावार छलफलका लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुँदैन भनेको छैन । प्रक्रिया अगाडि बढ्नु भनेको अलमलमा हुनु होइन ।”
यस्तै, उहाले चलचित्रसम्बन्धी विधेयकमा छलफल अझै पूर्ण नभएको जस्तो लागे पनि समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल तय भएको भन्दै छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनको जगमा सरकार बनेको छ । म सञ्चारमन्त्री भएको दुई महिना मात्र भएको छ । चलचित्रसम्बन्धी विधेयक छलफलको क्रममा छ । मेरो आफ्नै अनुरोधमा समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल भएको हो । आजको यो छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर तय भएको हो ।”
चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भन्नेबित्तिकै यसमा व्यापक परिमार्जन गर्न सक्ने भन्दै यो कुरामा सबै स्पष्ट हुनुपर्ने पनि उहाँको भनाइ छ ।