- गोकर्णप्रसाद भण्डारी
दोलखा, १२ मङ्सिर । दोलखाको बिगु गाउँपालिका–३ बुलुङकी दिलकुमारी बुढाथोकीको बाँच्ने आधार नै टुटेको छ । स्तन क्यान्सर भएका कारण आमाको उपचारका लागि पठाओ चलाएर खर्च जुटाउँदै आउनुभएका महेश बुढाथोकीको जेनजी आन्दोलनमा निधन भएपछि पुत्रशोकले दिलकुमारीका आँखा ओभानो छैनन् भने अब उहाँको उपचार खर्च जुटाउने आधार पनि समाप्त भएको छ । छोरा बितेपछि आमा दिलकुमारी हरेक रात र दिन रोएर बित्ने गरेको छ । उहाँ भन्नुहुन्छ, “छोरा कतिबेला आमा भन्दै छोरा आउँछ झैँ लाग्छ, बितेको विश्वास लाग्दैन ।”
‘पठाओ’ गरेर क्यान्सर भएकी आफ्नी आमाको उपचारको खर्च जुटाउँदै आउनुभएका २२ वर्षीय महेशको गत भदौ २४ गते कोटेश्वरमा नेपाल प्रहरीको गोली लागेर मृत्यु भएको थियो । महेशका बुबा केशव भन्नुहुन्छ, “छोराले १२ उत्तीर्ण सकेको थियो, युरोप जाने सपना देखेको थियो, युरोपको माल्टा जाने भनेर ५० हजार रूपैयाँ मेनपावरलाई बुझाएको पनि थियो र अहिले फुर्सद भएको समयमा आमाको उपचारलाई खर्च जोहो गर्न पठाओ चलाउने गथ्र्यो तर छोराको न युरोपको सपना पूरा भयो, न आमाको उपचार पूरा गर्ने सपना पूरा भयो, हाम्रो त सबैथोक सकियो, बेसहारा भयौँ ।”
महेशका बुबा केशव १० वर्षअघि दोलखाको दुर्गमगाउँ बुलुङबाट आफ्नो कलिला दुई छोराहरूको सुनौलो भविष्य बोकेर काठमाडौँमा छिर्नुभएको थियो । गहभरि आँसु पार्दै उहाँ भन्नुहुन्छ, गाउँमा बाँदर र भालु आतङ्कले बस्ने अवस्था भएन, जति खेती किसान गर्दा पनि परिवार पाल्न धौधौ भएपछि काठमाडौँ आइयो । तर आज यो अवस्था देख्नुपर्यो ।’’ आफू अनपढ भए पनि भारी बोक्दै छोरालाई १२ कक्षासम्म पढाएको बताउँदै उहाँ भन्नुहुन्छ, “अब म बा आमालाई सुख दिन्छु भन्थ्यो, अब युरोप जान्छु धेरै पैसा कमाउँछु अनि काठमाडौँमा घरघडेरी किन्छु भन्ने यसका ती सबै कुरा सपना जस्तै हराएर गए ।”
हाल केशव काठमाडौँको सुकेधारास्थित एक ग्यास डिपोमा ग्यास झार्ने र चढाउने काम गर्नुहुन्छ । उहाँको महिनाको १५ हजार रूपैयाँ तलबले न काठमाडौँको ठाउँमा परिवार पााल्न पुग्छ न छोराछोरी पढाउन नै । उहाँ भन्नुहुन्छ, “घरको मियो भाँचियो, अब कसको साहाराले बाँच्ने ? श्रीमती पनि बिरामी छिन्, उनको उपचार खर्च कसरी जुटाउने ? अर्को छोरा सानै छ ।”
भदौ २४ गतेको दिन स्मरण गर्दै दिलकुमारी भन्नुहुन्छ, ‘‘एक हजार लिएर आमा म स्कुटी सर्भिसिङ गरेर आउँछु है भनेर गएको थियो तर छोरा फर्केन, छोराको श्वास भेट्न सकिन्छ कि भनेर आफैँ किष्ट मेडिकल कलेज पुगेँ, त्यो बेला यसको निधन भइसकेको रहेछ ।’’ दिलकुमारी भन्नुुहुन्छ, ‘‘घरको सबै काम गर्ने उही महेश थियो । लुगाधुने, खाना पकाउने, औषधि ल्याउने, खुवाउने काम गर्न रमाउँथ्यो ।’’ अहिले पनि छोरासहित बसेको घरमा बस्न गाह्रो भएपछि छोराको याद कम होला कि भनेर केशवको परिवार केही पर कोठा सरेर बसेको छ ।
मृतक महेशले नै आफ्नै भाइलाई २३ गतेको आन्दोलनमा धेरै मान्छे मरेको र २४ गते झन् समस्या हुनसक्ने र काम गर्न नजानु भन्दै २३ गते बेलुकी सम्झाएको बुबा केशव बताउनुहुन्छ । केशव भन्नुहुन्छ, ‘‘भाइलाई सम्झायो तर आफूले छोडेर गयो । म बिहानै काम गर्न जाने भएकाले त्यस दिन छोरासँग भेट हुन पाएन एकैपटक छोरा मरेको खबर पाएँ, मैले केही सोच्न सकिन ।’’
महेशको कोटेश्वरमा प्रहरीको गोली लागेपछि मृत्यु भएकै अवस्थामा एक स्थानीय व्यापारीले उनलाई किस्ट मेडिकल कलेज लगेका थिए । छोरा अस्पतालमा छ भन्ने खबर पाएलगत्तै महेशका बुबा आन्दोलनका कारण गाडी नचलेकाले सुकेधाराबाट तीन घण्टा लामो हिँडेर किस्ट मेडिकल अस्पताल पुग्नुभएको थियो, उहाँ पुग्दा महेशको मृत्यु भइसकेको थियो । छोराको लाश भेटेको बताउनुभयो । बुढाथोकी परिवारलाई राज्यले १५ लाख रूपैयाँ दिएको भए पनि अन्य कतैबाट खासै सहयोग र सद्भाव पनि नआएको उहाँको भनाइ छ । –रासस
यो पनि हेर्नुहोस्
जेनजी आन्दोलनका सहिद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता
जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
जेनजी आन्दोलनका सहिद : “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”
जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
जेनजी आन्दोलनका सहिद : जेनजी सहिद परिवारको माग- दोषीमाथि अविलम्ब कारबाही होस्
जेनजी आन्दोलनका सहिद : हक्की र सहयोगी स्वभावका थिए कमल
जेनजी आन्दोलनका सहिद : सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु
जेनजी आन्दोलनका सहिद : उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना
जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी
जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो
जेनजी आन्दोलनका सहिद : परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार
जेनजी आन्दोलनका सहिद : परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन
सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्
जेनजी आन्दोलनका अमर प्रहरी राय
जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ- ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ