नेप्से परिसूचक नौ अङ्कले बढ्यो

2

काठमाडौँ, १० मङ्सिर । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ अङ्कले बढेर ४५९ दशमलव १७ अङ्कमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । कुल ३२२ कम्पनीका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर छ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रूपैयाँमा खरिद बिक्री भएको छ । मङ्गलबार कुल पाँच अर्ब ८२ करोड ३० लाख २८ हजार ६६३ रूपैयाँमा सेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएकामध्ये वित्त, लगानी, जीवन बिमा, सामूहिक लगानी कोष र निर्जिवन बिमा समूहका उपसूचक घटेका छन् । त्यसबाहेकका अरु उपसूचक भने बढेका छन् । जसमा सबैभन्दा बढी होटल तथा पर्यटनको उपसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेको छ ।

आज एनआरएन इन्फ्रास्टक्चरको सेयर ६२ करोड ४३ लाख ४३ हजार २१५ रूपैयाँ मूल्य बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ । झापा इनर्जी लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ ।

साथै सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्ड्रष्ट्री लिमिटेड, रिभरफल्स पावर लिमिटेड र माहूली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् । आजको कारोबारमा बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताले सेयर मूल्यमा तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...