जेनजी आन्दोलनका सहिद : हक्की र सहयोगी स्वभावका थिए कमल

0
  • रविन्द्र काफ्ले

पाँचथर, ९ मङ्सिर । किशोरावस्थादेखि नै हिलिहाङ गाउँपालिका–२ फलाँटेका कमल भण्डारीले विदेशमा बसेर देशको अवस्थाबारे चासो राख्नुहुन्थ्यो । परिवारका सदस्यसँग कुराकानी गर्दा उहाँले देशका सुशासन र सरकारी सेवा सहज रुपमा पाउने अवस्था आवश्यक रहेको धारणा राख्नुहुन्थ्यो । भारतसहित खाडी राष्ट्रहरु कतार र साउदी अरेबियामा ११ वर्ष बिताउनुभएका भण्डारीको परिवारका साथमा बसेर भविष्यमा सुखका दिन काट्ने सपना थियो ।

मानिसले सोचेको जस्तो सबै हुँदैन रहेछ । आफ्नो चाहनाअनुसारको माग लिएर चलेको जेनजी आन्दोलनमा सरिक भण्डारी सहिद बनेर सदाका लागि बिदा हुनुभयो । सुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवालगायत माग राखेर सुरुवात भएको जेनजी आन्दोलनमा सहभागी उहाँ झापाको विर्तामोडमा भदौ २४ गते गोली लागेर सहिद हुनुभएको थियो ।

एसएलसी उत्तीर्ण हुनासाथ परिवारको दुःखमा सारथी बन्न भण्डारी भारततर्फ जानुभएको थियो । तीन वर्ष त्यहाँ होटलमा काम गरेर गाउँ फर्केपछि उहाँ अर्कै देश जाने निर्णयमा पुग्नुभयो । खाडी राष्ट्र कतार पुग्नुभएका उहाँले उतै सवारीसाधन सञ्चालनको सीप सिक्नुभयो । कतारमै सवारी सञ्चालन अनुमतिपत्र प्राप्त गरेर करिब पाँच वर्ष बिताएपछि उहाँ स्वदेश फर्कनुभयो ।

ताप्लेजुङको सिरिजङ्घाकी शीतल पौडेलसँग २०७६ सालमा विवाह बन्धनमा बाँधिनुभएका भण्डारीले झापाको बिर्तामोड नगरपालिका–१० विराटपोखरमा साढे दुई कट्ठा जग्गा खरिद गर्नुभयो । रोगले थलिएका बाबुआमालाई दुःख नहोस्, भाइबहिनीले राम्रोसँग पढ्न सकून् भन्ने चाहनाले उहाँलाई पुनः विदेशको यात्राले दोहोर्‍यायो । नाबालक छोरो र श्रीमतीको साथ छाडेर उहाँ साउदी अरेबियातर्फ लाग्नुभयो । त्यहाँ पनि उहाँ सवारी सञ्चालनकै काम गर्नुहुन्थ्यो । श्रीमती शीतलका अनुसार मासिक आम्दानी पनि राम्रै थियो । विदेशमा भए पनि राम्रै आम्दानी भएकाले भण्डारी परिवारले खुसीसाथ जीवन जिउने सपना बनाएको थियो ।

साउदी अरेबिया गएको तीन वर्षपछि उहाँ गत चैतमा स्वदेश फर्कनुभयो । श्रीमती शीतल, छोरा रियान्स र बहिनी मायासमेत झापामै भएकाले उहाँ पाँचथर नआइ बिर्तामोडमा घर बनाउन थाल्नुभएको थियो । घरको भुइँतला ढलानसम्मको काम मात्र सकिएको थियो । फोनमा कुराकानी हुँदा दसैँमा पाँचथर आउने वचन दिनुभएका उहाँ धमाधम घर निर्माणकै काममा सक्रिय हुनुहुन्थ्यो । जेनजी आन्दोलनप्रति समर्थन गर्ने र आवश्यक परे आफूले पनि योगदान दिनुपर्छ भन्ने कुरा कमलले श्रीमती शीतललाई भन्नुभएको थियो । भदौ २३ गते १९ जना आन्दोलनकारीको ज्यान गएको घटनापछि उहाँ भदौ २४ गते आन्दोलनमा जोडिनुभएको थियो ।

हक्की र प्रष्ट वक्ता भण्डारी सबै नागरिकले समान हैसियत पाउनुपर्छ भन्ने चाहनुहुन्थ्यो । विदेशबाट लामो समय देशको अवस्था नियाल्नुभएका उहाँ आन्दोलनको अग्रमोर्चामा रहने क्रममा गोली लागेर भदौ २४ गते साँझ सहिद हुनुभएको श्रीमती शीतलले जानकारी दिनुभयो । घटनाको एक साताअघि टेलिफोनमा कुराकानी हुँदा कमलले बुबा गणेशलाई दसैँसम्ममा घरको भुइँ तलाको काम सकिने बताउनुभएको थियो । “दसैँमा यहाँ (हिलिहाङको फलाँटे)को घर रङ्ग्याउन आइपुग्छु भन्थ्यो । तर, भदौ २५ गते बिहान कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो”, गणेशले भन्नुभयो, “ऊ आन्दोलनमा गएको पनि मलाई थाहा थिएन ।”

श्रीमती शीतललाई ‘एकैछिनमा आउँछु’ भनेर हिँडेका कमल रात पर्दा पनि घर फर्कनुभएन रे फोन पनि उठेन । श्रीमती शीतल, बहिनी मायालगायतले रातैभरि मोबाइलमा फोन गर्नुभयो । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा चिसो पसिसकेको थियो । बहिनी मायाका अनुसार गत २५ भदौको बिहान १० बजे कमलको फोन बिएन्डसी अस्पतालका सुरक्षागार्डले उठाए ।

सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ, आएर लिएर जानु’ भनेपछि परिवारमा रुवावासी चल्यो । “हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्”, मायाले भन्नुभयो, “दाजुसँगै आन्दोलनमा आएका अरू कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।”

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कञ्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएन्डसी अस्पताल पुर्‍याएका थिए । कमलका परिवारजनले भोलिपल्ट मात्रै उहाँ ‘भेन्डिलेटर’मा भएको जानकारी पाए । “दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो”, बहिनी मायाले भन्नुभयो, “चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनुभएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर, त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।” कमलको शवलाई २८ भदौमा अमरपुर ल्याइ दाहसंस्कार गरिएको थियो ।

गणेशप्रसाद भण्डारी र खगमाया कार्की (भण्डारी)का माइला सुपुत्र कमलको जन्म २०५२ चैत १५ गते भएको थियो । हिलिहाङ–२ सिंहपुरस्थित सिंहपुर पशुपति माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेपछि उहाँले अध्ययन छोड्नुभएको बुबा गणेशको भनाइ छ । हरेक कक्षामा उत्तीर्ण हुने तर नतिजामा धेरै राम्रो अङ्क भने ल्याउन नसक्ने कमलको विशेषता थियो । आफूलाई लागेको कुरा बाल्यकालदेखि नै स्पष्ट रुपमा भन्ने र सबैलाई समान ब्यवहार गर्नुपर्छ भन्ने सोचाइ कमलको थियो । गाउँमा बस्ने मौका नै नमिलेका कारण कमलले समाजलाई योगदान दिनै नपाएको बुबा गणेशको भनाइ छ । “ऊ त सधैँ बाहिरको बाहिरै रह्यो । यहाँ गाउँघरमा सबैले उसका बारेमा जान्न पनि पाएनन्,” बुबा गणेशले भन्नुभयो, “समाजका लागि केही गरौँ भन्ने सोच राख्दथ्यो ।”

साउदी अरेबियाबाट फर्केपछि झापामा घर निर्माणमा लाग्नुभएका कमल बुबाआमा भेट्न आइपुग्नु भएकै थिएन । “दशैंमा आउँछु भन्थ्यो । हामी (बुबाआमा)लाई पनि झापा लैजान्छु भन्थ्यो”, बुबा गणेशले बिलौना गर्नुभयो, “तर, भेट्न समेत नपाइ बित्यो । मलाई पाल्ने छोरो नै अस्तायो ।” माइलो छोरो कमल सहिद बनेपछि अझैसम्म बुबा गणेशका आँखा ओभाएका छैनन् । आमा खगमाया पनि छोराबारे धेरै बोल्न चाहनुहुन्न । “दुई महिना बितिसक्यो । तर, अझै पनि सपना हो कि भन्छु”, आमा खगमायाले भन्नुभयो, “खोइ हामीलाई किन यस्तो बज्रपात पर्‍यो ?”

स्थानीयवासी एवम् हिलिहाङ गाउँपालिका–२ को कार्यालयका सचिव ज्ञानबहादुर अधिकारी सहिद कमल भण्डारीलाई एक स्पष्ट र सकारात्मक सोच भएको युवाका रुपमा सम्झनुहुन्छ । “विद्यार्थी हुँदादेखि नै म उहाँ (सहिद कमल)लाई चिन्दछु । स्पष्ट र केही गरौँ भन्ने सोच भएको युवा हुनुहुन्थ्यो”, अधिकारीले भन्नुभयो ।

श्रीमती शीतलका नजरमा सहिद कमल भण्डारी दुःख परेको मान्छेहरु सहयोग गर्नुपर्छ भन्ने भावना राख्ने युवा हुनुहुन्थ्यो । “धेरै आँटिलो मान्छे हुनुहुन्थ्यो । जुनसुकै काम पनि थालेपछि सकेर मात्रै छोड्नुपर्छ भन्ने सोचाइ राख्नुहुन्थ्यो”, शीतलले भन्नुभयो, “अहिलेसम्म त्यस्तै गर्दै पनि हुनुहुन्थ्यो ।” अरुलाई छिटो साथी बनाउने र सबैसँग मिलेर बस्ने बानी कमलको थियो ।

शीतलका अनुसार कमलसँगै उहाँका जेठा दाजु पनि विदेश जानुभएको थियो । तर हालसम्म फर्कनु भएको छैन । कमलका दुई जना बहिनीहरुले विवाह गरिसकेका छन् । भाइ सानै भएकाले अध्ययन गरिरहेका छन् । यसकारण झापामा घर बनाएर बाबुआमालाई झापा नै लैजाने कमलको सपना थियो । तर, त्यही सपनाको घर अहिलेसम्म पूरा हुन पाएको छैन । “हाम्रो घर निर्माण पनि पूरा भएको छैन । घर निर्माणमा पनि धेरै काम बाँकी रहेकाले हामीले चाहेको कुरा पूरा गरिदिनु हुन्छ भन्ने आशा सरकारसँग छ”, शीतलले भन्नुभयो ।

कमलको अन्तिम पटकका लागि विदेश जाने सपना थियो । यसका लागि उहाँले आवश्यक प्रक्रिया पनि थाल्नुभएको थियो । तर, अन्तिम पटक विदेश गएर फर्केपछि नेपालमै गाडी चलाउने कमलको सपना थियो । यसका लागि उहाँले सवारी लाइसेन्स समेत निकाली सक्नु भएको शीतलले बताउनुभयो । “विदेश गएर आएपछि आफ्नै सवारी साधन खरीद गरेर चलाउने सपना थियो तर उहाँको सपना पूरा हुन सकेन”, शीतलले भन्नुभयो, “उहाँको व्यक्तिगत सपना पूरा नभए पनि जेनजी आन्दोलनका सहिदहरुको माग पूरा भए हुन्थ्यो जस्तो लाग्छ मलाई ।”

जेनजीले उठाएका माग पूरा हुनुपर्ने र सहिद परिवारको जीवन रक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने शीतल बताउनुहुन्छ । “देशमा भ्रष्टाचार नहोस्, राम्रो होस् भनेर नै सबै जना आन्दोलनमा जानुभएको थियो । सबै सहिदको सपना त देश राम्रो होस् भन्ने नै थियो पक्कै”, उहाँले भन्नुभयो, “जेनजी आन्दोलनबाटै बनेको नयाँ सरकारले छिटोभन्दा छिटो जेनजीका माग पूरा गरिनुपर्छ ।”

आफ्नो चार वर्षको नावालक छोराको अध्ययनको प्रवन्ध सरकारले गरिदिनु पर्ने, परिवारका सदस्यको उपचार र अध्ययनको व्यवस्था गरिनु पर्ने र आफूलाई रोजगारीको व्यवस्था हुनुपर्ने उहाँको माग छ । पवनको पनि अध्ययन र रोजगारीको प्रबन्ध हुनुपर्ने शीतलको माग छ । “मेरो देवर पवन भर्खर कक्षा ११ मा पढ्दै हुनुहुन्छ । उहाँ दाजुकै सहारामा पढ्दै हुनुहुन्थ्यो”, शीतलले भन्नुभयो, “हाम्रो परिवारको आर्थिक अवस्था कमजोर छ । बुबाआमाले कमजोर स्वास्थ्य अवस्थाका कारण काम गर्न सक्नुहुन्न । परिवारको मूल खम्बा नै नभएपछि सरकारले सहयोग नगरे हाम्रो बिचल्ली हुन्छ”, उहाँले भन्नुभयो । –रासस

Share This:
सम्बन्धित खबर
Loading...