काठमाडौँ, ९ मङ्सिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निर्वाचनको वातावरण बनाउन दबाब सिर्जना गर्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उहाँले जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको भन्दै यसलाई सहज बनाउन सरकारलाई निर्वाचनको वातावरण बनाउन उत्प्रेरित र दबाब सिर्जना गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि राष्ट्र असहज अवस्थाबाट गुज्रिएको छ । यस्तो बेला आउन लागेको निर्वाचनको लागि वातावरण बनाउन जनतालाई अपिल गर्ने छौँ । राजनीतिक दलहरुलाई अपिल गर्ने छौँ र सरकारलाई निर्वाचनको वातावरण बनाउन पहलका लागि उत्प्रेरित गर्ने छौँ । दबाब पनि सिर्जना गर्ने छौँ र देशमा अहिले देखा परेको असहज अवस्थालाई सहज बनाउन अगाडि बढ्ने छँ ।”
यस्तै, उहाँले नेपालमा विद्यमान राष्ट्रिय संकटको अवस्थाको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र देश र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने उद्देश्यद्वारा पार्टी अगाडि बढाइएको पनि उहाँको भनाइ छ ।
“नेपालमा विद्यमान राष्ट्रिय संकटको जुन अवस्था छ त्यसको सामना गर्न आवश्यक शक्ति निर्माण गर्ने र नेपाली जनताको अधिकारलाई फेरि स्थापित गर्ने महान उद्देश्यका साथ अघि बढेका छौँ । ढिलो–छिटो सबै सच्चा कम्युनिस्ट, देशभक्त र लोकतन्त्रवादीहरु नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा जोडिने छन्,” उहाँले भन्नुभयो ।
साथै, उहाँले नेपाली कम्युनिस्ट पार्टी देशमा साच्चिकै रोजगारी सिर्जना गर्ने, कृषि पर्यटन, उद्योग र उर्जालगायत सबै क्षेत्रमा व्यापक सुधार गर्न नयाँ आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ विदेशमा रहेका नेपालीहरुको लागि काम गर्नेतर्फ लागेको पनि बताउनुभयो ।