नुवाकोट, ८ मङ्सिर । नेपाली कम्युनिस्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता परिवारका लागी गर्व गर्न लायक योगदान पुर्याएको बताउनुभएको छ ।
नुवाकोटको लिखु गाँउपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको परिवर्तनका लागि सहिदले पुर्याएको योगदानको उच्च प्रशंसासहित आफूले गर्नसक्ने सम्मान प्रदान गरेको बताउनुभयो ।
जनयुद्धको सफलता, सङ्घीय गणतन्त्र, संविधानसभामार्फत् नयाँ संविधान जारी, राज्य पुनःसंरचनाको निर्माणलगायत सहिद, बेपत्ता र घाइते योद्धाको बलिदानको उपलब्धि भएकाले त्यसलाई संस्थागत गर्न सक्ने जति राहत उपलब्ध गराएको उहाँको भनाइ छ ।
“पहिलो पटक प्रधानमन्त्री हुँदाको पहिलो निर्णय नै जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने थियो । तर, कार्यान्वयनमा ल्याउन सकिएको थिएन,” दाहालले भन्नुभयो, “प्रधानमन्त्री कार्यकालको तेस्रो पटकमा जनयुद्धसहित सबै किसिमका आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्दै राजपत्रमा सूचना प्रकाशित गर्दा गर्व लागेको छ । यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन तथा कानुन बनाउने विधेयकलाई अन्तिम निर्णयमा पुर्याउन सफल भएकाले अबको प्रयास त्यसमा गरिएको परिपूरण कार्यान्वयन गराउन केन्द्रित हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
परिपूरणमा सहिद र बेपत्ता परिवारलाई परिचयपत्र प्रदान गर्ने, सार्वजनिक सेवा प्रवाहमा छुट सुविधा उपलब्ध गराउने, परिवारका एक जनालाई रोजगारीको प्रबन्ध मिलाउनेसहित न्यूनतम १० लाख रूपैयाँ प्रदान गर्ने उल्लेख छ । सोही कार्यान्वयनको लागि आफूले प्रयास जारी राखेकाले सहिद र बेपत्ता परिवारलाई न्याय दिन जस्तो सुकै मूल्य चुकाउन पनि तयार हुने उहाँले विश्वास दिलाउनुभयो ।
परिपूरणको कार्यान्वयन शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने व्यवस्थाअन्तर्गत महत्त्वपूर्ण कदम हुने भएकाले त्यसका लागि अन्तर्राष्ट्रिय नियोगको समर्थन र दातृ निकायबाट आर्थिक सहयोग जुटाइ कार्यान्वयन गराइने उहाँको भनाइ छ ।
नेकपाका संयोजक एवम् पूर्वप्रधानमन्त्री दाहालबाट यहाँको लिखु गाउँपालिका–५ मा निर्माण गरिएको सहिद स्मृति केन्द्र भवन र सहिद स्मृति पार्कको आज एकसाथ उद्घाटन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत प्राप्त ९० लाख रूपैयाँ लगानीमा निर्माण गरिएको भवनलाई कार्यालय बनाइएको छ भने स्मृति पार्कमा जनयुद्धको समयमा लिखु गाउँपालिकाबाट दिवङ्गत भएका ११ जना सहिद र बेपत्ता एक जनासहित १२ जनाको शालिकको उहाँले अनावरण गर्नुभयो ।