काठमाडौँ, ४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्स सामु १४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनायो । चितवनको सुरुवात भने सुखद् रहेन । कुल ४३ रन जोड्दा तीन विकेट गुमाएको चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपराले ४४ रनको साझेदारी गर्दै पारीलाई सम्हाल्ने प्रयास गरे ।
१५ दशमलव २ ओभरमा टिमको स्कोर ८७ हुँदा कप्तान मल्ल व्यक्तिगत २१ रनमा आउट भए । रवि बोपरा भने अर्धशतकी पारी खेले । उनी ६६ रनमा आउट भए ।
यस्तै, देव खनालले १४, दीपक बोहराले १०, सैफ जैब १५, अर्जुन साउँदले अविजित १५ र शाहिल तनवीरले पाँच रन बनाए ।
बलिङमा लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले तीन विकेट लिए भने अभिषेश गौतम र गुलबदिन नैबले समान दुई÷दुई विकेट लिए ।
प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी सुखद् सुरुवातको खोजीमा छ । चितवन भने लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ ।