मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु

3

खाँदबारी, ४ मङ्सिर । सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ । मकालु आधार शिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो ।

मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलबार मृत्यु भएको हो । मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार बुधबार दिउँसो प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्ड तीन जनाको टोली घटनास्थल पुगेको थियो । घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण बुधबार दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको हो ।

मृतकको शव हेलिकोप्टरमार्फत् बुधबार दिउँसो उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दुरीमा पर्दछ । मकालु आधार शिविरमा अहिलेसम्म यातायात र सञ्चार पहुँच पुग्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...