दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ?

5

काठमाडौँ, ३ मङ्सिर । पशुपति आर्यघाट परिसरस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि कति समय कुर्नुपर्ला ? तपाईंलाई लाग्दो हो पालो पर्खन नपर्ला । तर, शवदाह गृह सञ्चालनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोषका कारण पछिल्ला केहीदिनयता कम्तीमा तीनदेखि चार घण्टासम्म शवदाहका लागि लाइनमा राख्नुपर्ने बाध्यता देखिएको छ ।

विद्युतीय गृहमा मङ्गलबार साँझ ६ः३० बजेसम्म करिब ११ शवदाह गरिएका कोषले जनाएको छ । “विदेशबाट शव ल्याउन तीन हप्ता लाग्यो, यहाँ चार घण्टा लाइन बस्दा के हुन्छ ? घाटको उचित व्यवस्थापन कहिले होला ?”, मृतकका एक आफन्तले पालो कुर्दै प्रश्न गर्नुभयो । केही आफन्तजनले आफूहरूले शवदाहका लागि पाँच घण्टासम्म कुर्नुपरेको गुनासो गरेका गरेका छन् ।

कोषका निमित्त सदस्यसचिव शुभाषचन्द्र जोशीले भन्नुभयो, “विद्युतीय शवदाह गृहका उपकरणमध्ये एकमात्र सञ्चालनमा रहेकाले दाहसंस्कारका लागि लाइनमा बस्नुपर्ने बाध्यता आएको हो । बिग्रिएका विद्युतीय शवदाह उपकरण मर्मतका लागि कोषले केही प्रयास गरेको छैन ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “आशा गरौँ छिट्टै नतिजा आउँला ।”

केहीले आर्यघाटमा शवदाह गर्न निकै लामो लाइन कुर्नुपर्ने भएकाले आफूहरूले विद्युतीय शवदाह गृहमा शव ल्याएको बताएका छन् । पछिल्ला दिनमा विशेष गरेर विविध कारणले विदेशमा मृत्यु भएकाको विद्युतीय शवदाह गृहमा संस्कारदाह हुँदै आएको कोषले जनाएको छ ।

पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार रूपैयाँ र विद्युतीय शवदाह गृहमा चार हजार रूपैयाँ शुल्क तोकिएको छ । करिब ११ करोड रूपैयाँको लागतमा बनेको विद्युतीय शवदाह गृह विसं २०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको हो । विद्युतीय शवदाह गृहमा एउटा शव जल्न कम्तीमा ४५ मिनेट लाग्ने जनाइएको छ ।

यसैबीच, विद्युतीय शवदाह गृह भवन र परिसरमा रहेका शौचालय सेवाग्राहीले प्रयोग गर्ने अवस्थामा छैनन् । नाक, मुख थुनेर शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको सेवाग्राहीको भनाइ छ । –रासस

Share This:
सम्बन्धित खबर
Loading...