दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित

7

टोकियो, ३ मङ्सिर । दक्षिणपश्चिमी जापानको एक बस्तीमा लागेको भीषण आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकोप्टरहरूले १७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य हुनुपरेको अधिकारीहरूले पुष्टि गरेका छन् ।

जापानको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार कम्तीमा १७० घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । साथै, ७० वर्ष उमेरका एक पुरुष बेपत्ता भएपछि उद्धार टोली थप सतर्कताका साथ खोजीकार्यमा जुटिरहेको जनाइएको छ ।

आगलागी मङ्गलबार साँझ ओइता सहरको माछा मार्ने बन्दरगाह नजिकै सुरु भएको थियो । तीव्र हावाका कारण आगो तीव्र गतिमा फैलिँदै वरपरका घरहरू र नजिकको जङ्गलमा समेत पुगेको थियो । ओइता दक्षिणी मुख्य टापु क्युशोमा अवस्थित सहर हो । यहाँ यो दुर्लभ स्तरको आगलागीले स्थानीयहरूलाई गम्भीर विपत्तिमा पारेको छ ।

दिउँसो प्रसारित जापानी टेलिभिजन दृश्यहरूमा विस्तृत क्षेत्रभरि जलेका र क्षतिग्रस्त घरहरूबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो । यद्यपि, प्रत्यक्ष ज्वाला भने धेरैजसो निभिसकेको देखिन्थ्यो ।

एक स्थानीय बासिन्दाले क्योदो न्युजसँग कुरा गर्दै भने, “आगो आँखा झिम्क्याउँदा फैलियो । मलाई केही उठाउने फुर्सदै भएन, जीवन बचाउन मात्रै भाग्न सकेँ ।”

आगो नियन्त्रणमा लिन दर्जनौँ फायर इन्जिन प्रयोग गरिएको छ र २०० भन्दा बढी अग्निनियन्त्रक खटिइरहेका छन् । तर आगलागी सुरु भएको करिब २० घण्टा बितिसक्दा पनि पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन् ।

ग्राउन्ड सेल्फ–डिफेन्स फोर्स (जिएसडिएफ)ले पनि सहयोगस्वरूप दुई वटा युएच–१ सैन्य हेलिकोप्टर परिचालन गरेको छ । ती हेलिकोप्टरले आकाशबाट निरन्तर पानी छर्केर आगो निभाउने प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत् प्रतिक्रिया व्यक्त गर्दै आगलागीबाट पीडित भएका सबैप्रति हार्दिक सहानुभूति प्रकट गर्नुभयो । उहाँले प्रभावित नागरिकहरूलाई आवश्यक सबै प्रकारका राहत तथा सहयोग ‘अधिकतम रूपमै उपलब्ध गराइने’ आश्वासन दिनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...