सर्लाहीमा बिजुलीका ट्रान्सफर्मर चोरीको आतङ्क मच्चाउने गिरोह पक्राउ

5

सर्लाही, ३ मङ्सिर । जिल्लाका विभिन्न स्थानमा कृषि प्रयोजनका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर क्रमशः चोरी हुँदै आएपछि प्रहरीको विशेष अभियानमार्फत संलग्न समूहका ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी ४ भारतीय नागरिकसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार बागमती, रानिगञ्ज, चन्द्रनगरलगायतका क्षेत्रमा हालसम्म १७ वटा ट्रान्सफर्मर चोरी गरिएका थिए । ‘अप्रेसन चार्ली’ नामक विशेष अभियान सञ्चालन गरी महोत्तरी, बारा, पर्सालगायत स्थानबाट उनीहरूलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा इलामको माईजोगमाई गाउँपालिका–४ का २८ वर्षीय दुर्गा अधिकारी, सिन्धुपाल्चोकको पाखर गाउँपालिका– १ का ४२ वर्षीय सोनाम लामा, महोत्तरीको बर्दिवास नगरपालिका– ३ का ५३ वर्षीय बुधे माझी, पर्साको वीरगञ्ज महानगरपालिका– १६ का ३३ वर्षीय दिलिप कुमार ओझा, बाराको जितपुर सिमरा उपमहानगरपालिका– ६ का ३९ वर्षीय कृष्ण श्रीवास्तव, साथै भारतीय नागरिक ५० वर्षीय सुखाडी सहनी, २० वर्षीय सरोज कुमार सहनी, ५५ वर्षीय मो. रयाजुल र ३५ वर्षीय संजित पदार्थ रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट १०३.८ किलो तामाको तार, चोरीका लागि प्रयोग गरिएका ५१ थान औजार र २ वटा ई–रिक्सा बरामद गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी टोलीका अनुसार भारतीय नागरिक सुखाडी सहनीले इलामका दुर्गा अधिकारी, सिन्धुपाल्चोकका सोनाम लामा र महोत्तरीका बुधे माझीसँग मिलेर एकान्त स्थानमा रहेका ट्रान्सफर्मरबारे सूचना सङ्कलन गर्ने गरेको पाइएको छ ।

त्यहाँबाट चोरी गरिएका तामाका तारहरू वीरगञ्जस्थित कबाडी पसलमा बिक्री गरिन्थ्यो । त्यस्तै, बाराका कृष्ण श्रीवास्तवको गढिमाई मेटल प्रालि रहेको र चोरी गरिएका ट्रान्सफर्मरबाट निकालिएको तामालाई पगाली भाँडाकुँडा उत्पादन गरी बेच्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकका सोनाम लामाविरुद्ध चोरी तथा डाँकासम्बन्धी चार मुद्दा, महोत्तरीका बुधे माझीविरुद्ध कर्तव्य ज्यान, डाँका र अभद्र व्यवहारसम्बन्धी चार मुद्दा अदालतमा दर्ता रहेका छन् । प्रहरीले घटनासँग सम्बन्धित बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...