पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो

6

भोजपुर, ३ मङ्सिर । नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङ्मा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।

गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उहाँले जानकारी दिनुभयो ।

यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । यस वर्षका लागि एक करोड २० लाख रूपैयाँ बराबरको बोलपत्र आह्वान भइसकेको छ । हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी दुई करोड ५० लाख रूपैयाँ खर्च गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट छ वटै वडाका गरिक, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर छानो हटाउने काम भइरहेको उहाँको भनाइ छ ।

नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ ।

नागरिकको सबैभन्दा सुरक्षित स्थान आफ्नो घर हो”, अध्यक्ष राईले भन्नुभयो, “आर्थिक अवस्था कमजोर हुँदा कतिपय परिवार वर्षौँबाट चुहिने घरमा बस्दै आएका थिए । ती नागरिकहरुलाई स्थानीय सरकारको अभिभावकत्व प्रदान गर्न निःशुल्क जस्तापाताको छानो दिएका हौँ । नागरिकलाई सुरक्षित आवासको अनुभूति दिलाउने हाम्रो लक्ष्य हो ।”

आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागीका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । यसले नागरिकमा एकरुपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

अभियानअन्तर्गत वडा नम्बर १ श्याशिलाका १३१, वडा नम्बर २ तिवारी भञ्याङका ७१, वडा नम्बर ३ च्याङ्ग्रेका १०६, वडा नम्बर ४ बास्तिमका १०४, वडा नम्बर ५ सोनादुम्का १३२ र वडा नम्बर ६ ठुलोदुम्माका १५५ परिवार गरी, ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...