एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

3

काठमाडौँ, २ मङ्सिर । युएईमा यही मङ्सिर ५ गते (नोभेम्बर २१) देखि सुरू हुन लागेको एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीको आज बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरूलाई राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गर्नुभयो । उहाँले नेपाली खेलाडी कुनै पनि देशका खेलाडीभन्दा कमजोर नरहेको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट नतिजा आउने विश्वास प्रकट गर्नुभयो ।

अध्यक्ष चन्दले नेपाली क्रिकेटको भविष्य यिनै उदाउँदा युवा प्रतिभाहरूकै काँधमा रहेकाले समर्थन र सहयोगका लागि क्यान सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली यू–१९ टोलीका कप्तान अशोक धामीले टोलीका सबै खेलाडीले लामो समयदेखि कडा परिश्रम, अनुशासन र समर्पणसहित प्रतियोगिताको तयारी गरेको बताउँदै एसिसी यू–१९ प्रिमियर कप जित्ने लक्ष्यसहित युएई प्रस्थान गर्न लागेको बताउनुभयो ।

नेपाल क्रिकेट सङ्घका अनुसार उक्त प्रतियोगितामा सहभागी हुनका लागि १४ जना खेलाडीको बिदाइ गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...