- वासुदेव पौडेल/हरिप्रसाद बास्तोला
गण्डकी, १ मङ्सिर । परिवारले मुख्य सहारा गुमाएको दुई महिना बितिसकेको छ । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीका सहायक हबल्दारका रुपमा राष्ट्रसेवामा कार्यरत अवस्थामा ज्यान गुमाएका कास्कीको रुपा गाउँपालिका–५ रामदीका अमृत गुरुङको परिवार यतिखेर आफन्त गुमाउनुको असह्य पीडामा छ । दुई वर्षको नाबालक छोरासँगै परिवारको भविष्यको चिन्ता पनि उत्तिकै छ ।
आफन्त वियोगमा अमृतकी श्रीमती कान्ति र बुबा हस्त बहादुरको आँखा अझै ओभाउन सकेका छैनन् । रुपा गाउँपालिका–५ मा २०५१ पुस १० गते जन्मनुभएका अमृत गुरुङले नेपाल प्रहरीमा सेवा गरेको पनि यही असोज १५ गते १२ वर्ष पूरा भएको थियो । सेवामा नै रहँदा यस्तो अकल्पनीय घटना होला भन्ने कसले पो सोचेको थियो र १ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको अमानवीय आक्रमणमा उहाँले अल्पायुमै ज्यान गुमाउनु परेको थियो ।
आन्दोलनका क्रममा उहाँ काठमाडौँको कोटेश्वर प्रहरी प्रभागमा सेवारत हुनुहुन्थ्यो । श्रीमती कान्तिका अनुसार उहाँ त्यस समयमा केही दिनदेखि नै रुघाखोकीका कारण अस्वस्थ हुनुहुन्थ्यो । जेनजी आन्दोलनका कारण ठाउँठाउँमा भइरहेका झडप आदिका समाचारले श्रीमती कान्तिलाई कताकता चसक्क बिझाएको थियो । गत पुसमा आमा बितेका कारण यसवर्ष टीका नभएको र गएको जेठमा घरमा आउनुभएका अमृत यसपटक दसैँमा घरमा नआइ जागिरमा नै रहनुभएको थियो । दसैँमा नआए पनि परिवारलाई आफू तिहारमा आउने बताउनुुभएका उहाँले घरमा नै आउन नै नपाई सेवामा नै रहेका अवस्थामा अमानवीय आक्रमणमा परी ज्यान नै गुमाउनुपर्यो ।
रुघाखोकीका कारण शरिर अस्वस्थ भए पनि आन्दोलनका कारण निरन्तर ड्युटीमै खटिरहेका अवस्थामा उहाँ कार्यरत प्रहरी प्रभाग कोटेश्वर भदौ २४ गते तनावग्रस्त बनेको थियो । भदौ २३ गते सुरु भएको आन्दोलन २४ गते अझै अराजक तथा हिंसात्मक गतिविधितर्फ उन्मुख थियो । त्यसक्रममा ढुङ्गामुढा हुनुका साथै भीड पनि नियन्त्रण बाहिर गइसकेको थियो ।
प्रहरी प्रभागमा आन्दोलनकारीबाट हातहतियार खोसेर उल्टै प्रहरीमाथि प्रहार गर्न थालेसँगै भीड प्रहरीको नियन्त्रण बाहिर गएको थियो । त्यसै क्रममा प्रहरी कार्यालयमा आगजनी, प्रहरीलाई कुटपिट आदिसँगै अमृतको सम्पर्क एकाएक टुटेको थियो । भदौ २४ गते बिहान १० बजेसम्म अमृतसँग भिडिओ कल भएको बताउँदै उहाँकी श्रीमती कान्तिले त्यसपछि भने पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको जानकारी गराउनुभयो ।
“त्यसपछि फेसबुक, म्यासेन्जर आदिका माध्यमबाट उहाँका साथीभाइहरूको सम्पर्क नम्बर खोजेर पनि फोन सम्पर्क गर्ने प्रयास गरेँ, कसैसँग पनि सम्पर्क हुन सकेन”, उहाँले भावुक हुँदै भन्नुभयो, “रातभर पनि कहीँ कतै उहाँका बारेमा जानकारी हुन सकेन । भदौ २५ गते बिहान मात्रै उहाँ कार्यरत कार्यालयका प्रमुख यज्ञराज भट्टसँग फोन सम्पर्क भयो ।” फोन सम्पर्क भए पनि प्रमुख भट्टले अमृतसहित केही साथीहरूसँग सम्पर्क हुन नसकेको जानकारी गराउनुभयो । यसले झन परिवारमा तनाव बढायो ।
त्यस कुराले आफूलाई झनै चिन्तित बनाएको बताउँदै दिउँसो १ः३० बजे कार्यालयबाट अमृत सिकिस्त बिरामी भएर बिएण्डबी हस्पिटलमा भर्ना गरिएको भन्दै कोही आफ्नो मान्छे काठमाडौँमा हुनुहुन्छ भने पठाइदिनुहोस् भन्ने खबर परिवारलाई भएको थियो । “त्यस्तो कुरासँगै म के बोल्ने के नबोल्ने सोच्न समेत सकिन । दिमाग शून्य भयो, एक्लै डाँको छोडेर रोएँ”, उहाँले भन्नुभयो, “त्यसपछि आफन्तहरूलाई फोन गरेँ र यस कुराले उहाँहरू सबै चिन्तामा हुनुहुन्थ्यो ।”
तत्काल घर छाडेर आफू जान सक्ने अवस्था समेत नरहेका कारण काठमाडौँमा एकजना भाइ र दिदीलाई हस्पिटलमा जान भनेको उहाँ बताउनुहुन्छ । उहाँले त्यसपछि मात्रै त्यहाँको दुःखद घटनाबारे थाहा पाएको बताउनुभयो । अघिल्लो दिन १ः३० बजे हस्पिटलमा पुर्याइएका अमृतको सोही दिन ४ः४२ बजे हस्पिटलले मृत घोषणा गरिसकेको रहेछ । अमृतको शव २७ गते घर आइपुगेको र २८ गते उहाँको अन्त्यष्टि गरिएको थियो ।
सरकारले अमृत गुुरुङसहित ४५ जनालाई सहिद घोषणा गरेको छ । यसमा तीन जना अमर प्रहरी हुनुहुन्छ । श्रीमती कान्तिका अनुसार यसबीचमा सरकारका तर्फबाट परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ । त्यस्तै, प्रहरी संगठनका तर्फबाट १० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराइएको छ ।
प्रहरी सङ्गठनमा अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार प्रहरी अधिकारीका रूपमा आफ्नो पहिचान बनाउनुभएका अमृत सेवाकालीन समयमा उहाँले विभिन्न संवेदनशील ठाउँमा खटेर अपराध नियन्त्रण र समाजमा शान्तिपूर्ण वातावरण बनाउन निरन्तर योगदान दिनुभएको थियो । उहाँको सक्रियता र इमान्दारितापूर्ण सेवालाई सङ्गठनभित्र प्रशंसा गरिन्थ्यो ।
राज्यका तर्फबाट आर्थिक सहायता हस्तान्तरणमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, सशस्त्र प्रहरी, सैनिक तथा राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू उहाँको घरमा नै पुगेर परिवारलाई भेटी सान्त्वना दिनुुभएको थियो । उक्त क्रममा उहाँहरूले दिवङ्गत गुरुङले राष्ट्र र जनताको सुरक्षामा गर्नुभएको अतुलनीय योगदानको स्मरण गर्दै परिवारलाई धैर्य धारण गर्न आग्रह गर्नुभएको थियो ।
देश र जनताको सुरक्षार्थ सेवामा नै रहँदा अमानवीय तबरबाट हत्या गरिएका अमृतको परिवार यतिखेर राज्यबाट उचित न्याय पाउने आशासँगै परिवारको भविष्यको चिन्तामा छ । हत्याका दोषीलाई कानुनी कारबाही हुनुपर्ने बताउँदै श्रीमती कान्तिले नाबालक छोरा र परिवारको भविष्यको चिन्ताले सताएको बताउनुभयो । हत्यामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्ने बताउँदै उहाँले हत्याका आरोपी एकजनालाई नियन्त्रणमा लिएको भन्ने जानकारी पाए पनि त्यसपछि के भएको छ त्यसबारे आफू अनभिज्ञ रहेको बताउनुभयो ।
विसं २०७० असोज १५ गते प्रहरी सेवाका प्रवेश भइ पाल्पामा पदस्थापन हुनुभएका अमृत त्यस यता मुगु, सुर्खेत हुँदै काठमाडौँमा रही सेवा गर्नुभएको हो । घरायसी अवस्था सामान्य भएका उहाँका बुबा कृषक हुनुहुन्छ भने आमाको नौ महिनाअघि मृत्यु भएको थियो । हाल घरमा दुई वर्षको नाबालाक छोरा, श्रीमती, बुबा र हजुरबुबा रहनुभएको छ ।
घरको मुख्य सहारा नै नरहेपछि चिन्तामा परिवार
कृषि पेसामा रही आर्थिक रुपमा सामान्य रहेको उहाँहरूको परिवारमा घरको मुख्य सहारा नै नरहेपछि यतिखेर निकै चिन्तामा हुनुहुन्छ । दुुई वर्षको छोरा, आफूहरूको जीवनयापन तथा भविष्यले चिन्तित बनाएको श्रीमती कान्तिले बताउनुभयो । बुबा हस्त बहादुरको अमृत एउटा मात्र छोरा हुनुहुन्यो । आफ्नो सहारा भनेको त्यही छोरा रहेको र उसैको आशा एवम् भरोसा रहेको बताउँदै उहाँले छोरा नै नरहँदा अबको आफूहरूको भविष्य के हुने भन्ने अन्योलमा परेको बताउनुभयो ।
“म पहिला रोजगारीका लागि साउदी रहेको थिएँ, त्यसै बेला अमृतले म भर्ती भएँ अब हजुरले त्यहाँ दुःख गर्न पर्दैन घर फर्कनुहोस् भनेको अहिले पनि झलझली आउँछ”, अमृतले भर्ती हुनासाथ त्यस बेला भनेको कुरा सम्झँदै भावुक हुँदै उहाँले भन्नुभयो । राष्ट्र सेवामा रहँदा रहँदै छोराले ज्यान गुमाएको उल्लेख गर्दै उहाँले आफूहरू राज्यबाट उचित न्याय र संरक्षणको पर्खाइमा रहेको बताउनुभयो ।
श्रीमती कान्ति स्नातक तहमा मानविकीतर्फ मुख्य विषय अङ्ग्रेजी र ग्रामीण विकास विषय लिएर उत्तीर्ण हुनुभएको छ । उक्त घटनापछि उहाँको रोजगारीको विषयमा राज्यका तर्फबाट चासो भने दिइएको छ । रोजगारीका लागि १५ दिनअघि ऊर्जा मन्त्रालयबाट उहाँसँग निवेदन र शैक्षिक योग्यताका प्रमाणपत्र माग भएको थियो । त्यस्तै, प्रहरी सङ्गठनमा पनि निवेदन दिन भनिएको उहाँले जानकारी दिनुभयो । “रोजगारीका लागि कुरा त आएको छ तर कहाँ जाने भन्ने कुरामा अझै निर्णयमा पुग्न सकेकी छैन”, उहाँले भन्नुभयो ।
उहाँको रोजगारी तथा नाबालकको शिक्षाका लागि स्थानीय पालिकाले पनि चासो देखाएको छ । रोजगारीका लागि अन्य कुनै विकल्प नभएका अवस्थामा रुपा गाउँपालिकाका तर्फबाट अमृतकी श्रीमतीको रोजगारी र छोराका लागि शिक्षाको उचित प्रबन्ध गर्ने कुरामा ध्यान दिइएको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताउनुभयो । –रासस