एनपिएलको दोस्रो संस्करण आजदेखि

13

काठमाडौँ, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदै छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ बजे हुने छ भने पहिलो खेल ४ बजे खेलाइने छ । यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।

त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएका कारण दोस्रो संस्करण क्रिकेटप्रेमीबीच थप उत्साहको विषय बन्न पुगेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुने छ ।

यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन् भने फ्लड लाइटका कारण खेलहरु अन्य देशका रङ्गशाला सरह रातिसमेत सञ्चालन हुनेछन् । सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत् क्यानलाई पहिलो एनपिएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्र चरणका संरचना हस्तान्तरण गरेको थियो ।

प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख रूपैयाँ प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो ।

त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले भने ५१ लाख रूपैयाँ प्राप्त गर्ने छ भने तेस्रो स्थान हासिल गर्नेले २५ लाख रूपैयाँ तथा चौथो हुनेले १५ लाख रूपैयाँ प्राप्त गर्नेछ । एनपिएल दोस्रोका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । क्यानले यस पटक दैनिक नौ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ । पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ ।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार ५०० रूपैयाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार रूपैयाँ तोकिएको छ ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रूपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रूपैयाँ तय गरेको छ । एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । यस पटक एनपिएलबाट ४० करोड रूपैयाँ आम्दानी गर्ने क्यानको लक्ष्य छ ।

Share This:
सम्बन्धित खबर
Loading...