काठमाडौँ, ३० कात्तिक । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागु हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर तीन रूपैयाँ र पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ बढाएको हो ।
मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ ५४ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।