सिनेजगत्‌मा प्रवेश सजिलो तर दिगो टिक्न गाह्रो : राजेश हमाल

7

कर्णाली, ३० कात्तिक । नेपाली चलचित्र क्षेत्रका अभिनेता राजेश हमालले सिनेजगतमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रुपमा टिक्न गाह्रो भएको बताउनुभएको छ ।

फाइन प्रिन्टद्वारा शनिबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित घुम्ती साहित्य उत्सवमा डा.नवराज केसीसँगको अन्तरङ्गमा महानायक उपनाम पाउनुभएका हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गर्नुभयो । उहाँले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाउनुभयो ।

मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उहाँले भन्नुभयो, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायतका सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबै खाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।” आफ्नो पुस्तक युगदेखि युगसम्मले कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तुलाई उल्लेख गरेको महानायक हमालले बताउनुभयो ।

डा केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा उहाँकासँग अन्तसंवाद गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...