नागेन्द्रको शव नेपाल पठाउन आर्थिक सहयोग सङ्कलन

5

पोर्चुगल, २९ कात्तिक । सडक दुर्घटनामा परी ज्यान गुमाएका सुनसरीको इटहरी उपमहानगरपालिका–५ पिपलचोकका ४१ वर्षीय नागेन्द्र चौधरीको शव नेपाल पठाउन आर्थिक सहयोग सङ्कलन थालिएको छ । उनको घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएकाले शव पठाउन आर्थिक सहयोग सङ्कलन सुरु गरिएको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगल बस्दै आएका चौधरीको गत आइतबार सडक दुर्घटनामा परी ज्यान गएको हो । बजारबाट सामान किनमेल गरी इलेक्ट्रिक साइकलमा बासस्थान फर्कँदै गरेका उनलाई तीव्र गतिमा आएको कारले पछाडिबाट ठक्कर दिँदा चौधरीको घटनास्थलमै ज्यान गएको उनका साथी राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार चौधरीसहित तीन नेपाली नागरिक साइकलमा बजार गएका थिए । चौधरीको दुर्घटनामा परी ज्यान गएको घटनाबारे उनको घरपरिवारलाई जानकारी गराइएको छ । चौधरीको शव नेपाल पठाइदिन परिवारजनले आग्रह गरेको श्रेष्ठले बताउनुभयो । घरपरिवारको आर्थिक स्थिति अत्यन्त कमजोर भएको र शव पठाउने कार्य खर्चिलो भएकाले पोर्चुगलमा रहेका नेपाली समुदायले आर्थिक सहयोग सङ्कलन सुरु गरेका उहाँले बताउनुभयो । भिसेउको साटाओ ट्राभेन्सेलास्थित एक कृषि कम्पनीमा कार्यरत चौधरी यसअघि नेपाली सेनामा कार्यरत थिए ।

Share This:
सम्बन्धित खबर
Loading...