सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागु

15

खाँदबारी, २९ कात्तिक । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला–लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागु गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागु गरेको हो ।

कोशी राजमार्गअन्तर्गत १७ दशमलव पाँच किलोमिटर सडकखण्डमा ४५ मिनेट कायम रहनेगरी ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।

गन्तव्यमा चाँडो पुग्ने बहानामा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न गत भदौमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो प्रणाली लागु गर्ने निर्णय गरेको थियो । जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत हुने गरेका छन् ।

जिल्लास्थित यातायात व्यवसायीसँगको समझदारीमा टाइम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । यस क्रममा दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न निगरानी राखिने उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...