काठमाडौँ, २८ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग आफ्नो स्वामित्व नरहेको बताउनुभएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै उहाँले खड्का ल्याण्डमा आफ्नो स्वामित्व नरहेको बताउनुभएको हो ।
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग चरित्रहत्या गर्ने उदेश्यले बारम्बार नाम जोडेको पूर्वऊर्जामन्त्री खड्काको भनाइ छ । यसले व्यक्तिगत र राजनीतिक जीवनमा आघात पुगेको समेत उहाँले बताउनुभयो ।
नेता खड्काले विज्ञप्तिमार्फत् भन्नुभएको छ, “नेपाल स्काउटको भाडा विवादको विषयमा मेरो नाम जोडेर विभिन्न सञ्चार माध्याममा आएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग बारम्बार नाम जोडेर चरित्रहत्या गर्ने उद्देश्यले विभिन्न सञ्चार माध्याममा प्रकाशित र प्रसारित समाचारले मेरो व्यक्तिगत र राजनीतिक जीवनमा गम्भीर आघात पुगेको छ ।”
उहाँले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताउनुभयो ।
“केही गिरोहले आफ्नो क्षणिक स्वार्थका लागि मेरो नाम जोडेर बद्नाम गराउने र मेरो राजनीतिक प्रतिसोध साँध्ने खेलमा लागेका छन् । मेरो जीवन खुला किताबजस्तो हो । मेरो हरेक कुरा पारदर्शी र जवाफदेही छ । राज्यको चौथो अंग रुपमा रहेको सञ्चार जगतले सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,” उहाँले विज्ञप्तिमार्फत् भन्नुभएको छ ।
खड्का ल्याण्डले लामो समयदेखि काठमाडौँ लैनचौरस्थित नेपाल स्काउटको जग्गामा संरचना बनााएर जग्गाको भाडासमेत नतिरेको विवाद उत्पन्न भएको थियो । त्यससँगै बिहीबार युवा तथा खेलकुद मन्त्रालयले काठमाडौँ महानगरको सहायतामा खड्का ल्याण्डको संरचनामा डोजर चलाएको थियो ।