युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

11

कञ्चनपुर, २८ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्त बहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो ।

उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडिओ उहाँको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडिओ देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भन्नुभयो, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उहाँले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताउनुभयो ।

उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री पाँच सयदेखि दुई हजार रूपैयाँसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उहाँले काठका भाँडाकुँडा तयार पार्दै आउनुभएको छ । “अहिले मासिक ४० हजार रूपैयाँभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो”, महराले भन्नुभयो, “यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ ।” अहिले उहाँले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्नुहुन्छ । उहाँले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताउनुभयो । “माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु”, उहाँले भन्नुभयो, “यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन् ।”

पछिल्लो समय युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन् । तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बन्नुभएको महरा । उहाँले पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ । “आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो ।

यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइनँ”, महराले भन्नुभयो, “अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ ।” उहाँले स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...