काठमाडौँ, २२ कात्तिक । दौडमार्फत् स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम हुनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम हुनुभएको हो । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो हुनुभयो । पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दुरी पार गर्नुभयो ।
यस्तै, महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम हुनुभएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दुरी पार गर्नुभयो । यस्तै, शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो हुनुभयो । कटुवालले ३३ मिनेट ३९ सेकेण्डमा सो दुरी पार गर्दा राईले ३५ मिनेट ४९ सेकेण्ड लगाउनुभयो ।
विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गर्नुभयो । प्रतियोगितामा पुरुष र महिला समूहतर्फ प्रथम हुनुभएका भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार प्रदान गरियो ।
त्यसअवसरमा निगमका कार्यकारी निर्देशक भट्टले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि शारीरिक अभ्यास अपरिहार्य रहेको जनाउँदै आगामी दिनमा यसखालका रचनात्मक कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय धावक मानन्धरले नेपालले पछिल्लो समय खेल क्षेत्रमा आशालाग्दो प्रगति गरिरहेको उल्लेख गर्दै खेलकुदमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले प्रतियोगिताबाट सञ्चारकर्मी, निगमका कर्मचारी र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बनेको बताउनुभयो ।
निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपोको संयोजनमा भएको सो प्रतियोगितामा निगमका कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्र गरी करिब १३० जनाको सहभागिता थियो ।