- नारायण न्यौपाने
काठमाडौँ, २२ कात्तिक । थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा मत्स्य विषयका रिसर्च एसोसिएटेड प्रोफेसर तथा एक्वा सेन्टरका डाइरेक्टर डा.रामचन्द्र भुजेलले नवीनतम प्रविधिको प्रयोग गरी माछा उत्पादन व्यवसाय सञ्चालन गरिए प्रोटिनयुक्त खाद्य सुरक्षामा सहयोग पुर्याउनुका साथै युवा पङ्क्तिलाई ठुलो सङ्ख्यामा रोजगारी दिलाउन सकिने बताउनुभएको छ ।
मत्स्य अध्ययन र अनुसन्धानका क्षेत्रमा विश्वमै ख्याति कमाएको उक्त इन्स्टिच्युटमा तीन दशकदेखि माछासम्बन्धी कार्यक्रममा उच्च शिक्षा अध्यापनका साथै अनुसन्धान र तालिम प्रदान गर्दै आउनुभएका डा.भुजेलले छोटो समयमा धेरै आर्थिक लाभप्राप्त गर्न सकिने माछाका जात र प्रविधि नेपालमा भित्र्याउन आफूहरूले विभिन्न पहल गर्दै आउनुभएको छ ।
डा भुजेल भन्नुहुन्छ, “अहिले माछा उत्पादन र उपभोगका हिसाबले नेपाल पछाडि भए पनि सम्भावना भने धेरै छ । माछा आफैँमा स्वास्थ्यवर्द्धक र पोसिलो खाना हो । नेपालका बाँझो जमिन माछापालन र युवा रोजगारका लागि उर्वरभूमि बन्न सक्छ । थाइल्याण्डबाट प्रतिफल लिन सकिने जातका माछा ल्याइ यहाँ उत्पादनको पहल भइरहेको छ । पछिल्लो समय नेपालमा माछा पाल्नुपर्छ र खानुपर्छ भन्ने सोच पनि बढेको छ ।”
प्रोफेसर भुजेलसँग नेपालमा माछा व्यवसाय, रोजगारी र खाद्य सुरक्षालगायतका विषयमा केन्द्रित रही राससले लिएको अन्तर्वार्ताको सम्पादित अंशः
तपाईं अहिले कहाँ, केमा व्यस्त हुनुहुन्छ ?
माछाबारे अध्ययन, अनुसन्धान र तालिम कार्यक्रमहरूमा व्यस्त छु । हाल थाइल्याण्ड र नेपालसँगै कम्बोडिया, सिङ्गापुर तथा एसिया र अफ्रिकाका अन्य देशहरूमा सोही काम गरिरहेको छु । थाइल्याण्ड माछाको व्यावसायिक उत्पादनबारे जान्ने, बुझ्ने र अध्ययन गर्ने ठुलो ठाउँ हो । त्यहाँबाट नेपालमा पङ्गास, झिङ्गे र मोती उत्पादन गर्ने जातको माछा पठाएर गहयोग गरिरहेको छु । नेपालमा अहिले ती माछाहरूका साथै टिलापियाको उत्पादन भइरहेको छ । मेरो उच्च शिक्षा र जीवन नै माछासम्बन्धी विज्ञता बढाउने क्षेत्र भएकाले त्यसैमार्फत समुदायलाई सहयोग गर्ने कार्यपत्र प्रस्तुत गर्ने र अनुभव बाढ्ने कार्यमा ५० जति देशमा पुगेको छु ।
विश्वमा नेपाल माछा खपतका हिसाबले कस्तो देश हो ?
नेपालमा पानी धेरै छ । यहाँ छ हजारभन्दा बढी नदी नाला छन् । यहाँको ठुलो परिमाणमा पानी त्यतिकै बगेर गइरहेको छ । नेपालका नदी–नाला, ताल–तलाउमा माछा छन् तर व्यावसायिक खेती गर्ने चलन भने कम छ । अहिले नेपालमा करिब एक लाख १३ हजार टन माछा उत्पादन हुन्छ । जसमा २१ हजार टन जति नदीनालाबाट मारिन्छ । ती माछा गाउँघरतिर नै सकिने हुनाले सहरका लागि करिब १० हजार टन जति भारत र अन्य देशबाट आयात हुन्छ । जसले गर्दा हरेका वर्ष झण्डै तीन अर्ब रूपैयाँ बाहिर जान्छ । हामी माछा उत्पादन र उपभोगका हिसाबले अरुका तुलनामा निकै पछाडि छौँ । तर, उत्पादनको सम्भावना भने धेरै छ । माछा आफैँमा स्वास्थ्य र पोसिलो खानेकुरा हो । संसारमा एउटा व्यक्तिले प्रतिवर्ष करिब २० किलो माछा उपभोग गर्छ । नेपालमा भने प्रतिव्यक्ति खपत चार किलोभन्दा कम छ । थाइल्याण्डमा यो झण्डै ४० किलो छ । मलेसिया, जापान र कोरियामा त ६० किलोसम्म पुगेको छ । यसबाट नेपालमा माछा खानेमा चलन अतिकम देखिन्छ । तथापि, गएको पन्ध्र वर्षमा नेपालमा माछा पाल्नुपर्छ र खानुपर्छ भन्ने सोच बढेको छ । माछा उत्पादन बढाउन धेरै प्रयास गरिएको छ । यस विषयमा उच्च शिक्षाको पाठ्यक्रम विकास गरी लागु गर्न सहयोग गरिएको छ । अरु खेतीको तुलनामा माछाका लागि एक पटक पोखरी खनेपछि अलिअली मर्मत गरी बीसौँ वर्षसम्म निरन्तर उत्पादन गर्न सकिन्छ ।
नेपालमा व्यावसायिक माछा उत्पादन कति सम्भावना छ ?
मजदुरको अभाव तथा लागतको तुलनामा उत्पादन कम हुन थालेपछि पछिल्लो समय धान, मकै, गहुँको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । जग्गाहरू बाँझो हुन थालेका छन् । त्यो बाँझो जग्गामा पोखरी खन्ने हो भने राम्रो परिमाणमा माछा उत्पादन हुन सक्छ । तराईका चितवन, बारा, रूपन्देहीमा यसको अभ्यास भइरहेको छ । अरु खेती नभई प्रयोगमा नआएका जग्गामा पोखरी खनेर माछा उत्पादन गर्न सकिन्छ । एक हेक्टर जमिनमा धान लगाउँदा चार टन जाति उत्पादन हुन्छ । जबकी नेपालको औषत माछा उत्पादन नै डेढ गुनाबढी अर्थात् छ टन जति छ । अनि माछाको मूल्य धानको भन्दा झण्डै १० गुना बढी छ । त्यही जमिनमा पङ्गास, टिलापियाजस्ता चाँडो बढ्ने माछा नयाँप्रविधिको प्रयोग गरी पाल्ने हो भने २० टनदेखि ४० टनसम्म उत्पादन हुन्छ । उत्पादन र नाफा हेर्ने हो अरु खेतीको तुलनामा माछाबाट धेरै आम्दानी लिन सकिन्छ । धानखेती र माछापालन पनि सँगसँगै गर्न सकिन्छ । त्यस्तै, हास, कुखुरा, बङ्गुर, गाई, भैँसी अनि बाख्रापालन माछासँगै पोखरीमाथि वा डीलहरूमा गर्न सकिन्छ । माछा उत्पादनलाई व्यावसायिक बनाउन सकेमा रोजगारीका नाममा विदेश जाने युवालाई यही राम्रो अवसर प्रदान गर्न सकिन्छ । सुरुआती दिनमा पोखरी खन्न केही पैसा लाग्छ । तर, यसमा सरकारले पनि सहयोग गरिररहेको छ । माछापालनबाट राम्रो लाभ लिन सकिने विषयबारे राम्रो प्रचारप्रसार भएमा विदेश जाने युवाको सङ्ख्या पक्कै घट्न सक्छन् । अहिले देशमा युवा जनशक्ति काम नपाएर बरालिएको अवस्था छ । पैसाको ठुलो स्रोत र क्षेत्र भनेको माटो र पानी हो । यसलाई हामीले सही प्रयोग गर्न जान्नुपर्छ । यसमा युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ । माछा खेती धेरै नै फाइदाजनक छ ।
मुलुकको कुन क्षेत्र र जिल्लामा यसको सम्भावना बढी छ ?
नेपालमा माछाका लागि उपयुक्त हावापानी र सम्भावनाको क्षेत्र पहिलो तराई नै हो । समथर मैदान तथा गर्मी हावा पानीमा माछा चाँडो बढ्छ । त्यसकारण पनि तराईतिर बढी माछा उत्पादन हुन्छ । त्यसपछि चुरे पर्वत आसपासका खोच तथा फाँटमा पनि माछाखेती राम्रो हुन्छ । हामीले रामपुर क्याम्पससँग मिलेर चितवनबा माछापालको प्रोजेक्ट गरी नवलपरासी र पछि लमजुङ र गोर्खाका केही गाउँमा पनि माछा पालन फैलाएका थियौँ । नेपालका उच्च पहाडी भेग ‘माउन्टेन’ तिर ट्राउट माछा उत्पादनको राम्रो सम्भावना छ । उदाहरणका लागि कास्की वा पोखरा नजिक र ककनीमा केही ट्राउट फार्म छन् । त्यस क्षेत्रमा पनि अहिलेको भन्दा धेरै गुणा बढी माछा उत्पादन गर्न सकिन्छ । नेपालका ट्राउट सिङ्गापुरतिरबाट पनि माग आएको भन्ने सुनेको छु । तर, धेरै उत्पादन भइरहेको छैन । हाम्रै चिसो पानीमा हुने लोक माछा सहर, असला र गर्दी पनि पालन गर्न सके बजारको कुनै समस्या हुँदैन ।
नेपालमा माछा उत्पादनको पकेट क्षेत्र भनेर कहाँ र कति जिल्लालाई मानिएको छ ?
चितवन, रूपन्देही, बारा, पर्सा, दाङ, कैलाली, रौतहट, सर्लाही, धनुषा र कास्कीलगायतका जिल्ला माछा उत्पादनका हिसाबले अग्रस्थानमा छन् । सरकारले केही जिल्लालाई सुपर जोन, केहीलाई जोन अनि पकेट एरियाका रूपमा अघि बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले यसलाई सहयोग गरेको छ । पछिल्लो समय पहाडी क्षेत्रका गाउँमा पनि किसानले अनुदान लिएर पोखरी बनाइ व्यावसायिक रूपमा माछा पालन सुरु गरेका छन् । यहाँको उत्पादन स्थानीय तहमै खपत हुन्छ । नेपाल आफैँमा पनि बजारको राम्रो सम्भावना छ । खेर गइरहेको सानो जग्गामा पनि माछा पालन हुन्छ । माछा उत्पादनका क्षेत्रमा थेरै थरी प्रविधिहरू छन, तिनलाई भित्र्याउनु छ । थोरै लागतमा धेरै उत्पादन गर्ने प्रविधिको प्रयोग गरेर व्यावसायिक माछापालनमा लाग्नु बुद्धिमानी हुन्छ । हावापानीका हिसाबले काठमाडौँ वरिपरि पनि माछा उत्पादनको निकै सम्भावना छ । तरकारीजस्तै प्लाष्टिक टनेल बनाई पानी तातो पारी तरकारीसँगै माछाखेती गर्न सकिन्छ । तातो हावापानी र तामक्रमअनुसार माछाको उत्पादन निर्भर रहन्छ ।
नेपालमा कति प्रजातिका माछा पाइन्छ ?
माछा भनेको पानीमा हुने जीवजन्तु हो । नेपालमा करिब १३२ प्रजातिका माछा पाइन्छ भनिन्छ । तीमध्ये खेती गर्ने थोरै हुन्छन् । माछाको व्यावसायिक उत्पादनमा संलग्न हुनुअघि कुन माछाले कति उत्पादन दिन्छ । उसको आहारा के हो, के रोग लाग्न सक्छ, त्यसबाट कसरी सुरक्षित तुल्याउने भन्ने आधारभूत ज्ञान किसानलाई हुनुपर्छ । जग्गाको क्षेत्रफल र हावापानीअनुरूप थोरै क्षेत्रफलमा धेरै माछा उत्पादन गरी आम्दानी लिन सकिन्छ । नेपालमा चिसोपानी भएका सुनकोशी, अरुण, लिखु, तमोर, तामाकोशी, कमला, मरिण, बागमती, त्रिशूली, नारायणी, कर्णाली, बबई, भेरी, सेती महाकालीजस्ता नदी नालामा असला, सहर र गर्दीजातका माछा पाइन्छ, जुन धेरै मानिसका जिब्रोमा स्वाद झुन्डिएको हुन्छ । यी माछाहरू ढिलो बढ्छन्, कसरी प्रजनन र उत्पादन हुन्छ भनेर थाहा हुनुपर्छ । माछाखेतीलाई लामो समय लाग्यो भने खर्चिलो हुन्छ । त्यसैले चाँडो बढ्ने माछा चाहिन्छ । नेपालमा कमन, विगहेड, ग्रास, सिल्भर, रहु, नैनी, भाकुर, टिलापिया, पङ्गासजस्ता माछाको व्यावसायिक उत्पादन गरिँदै आएको छ, जुन छिटो बढ्छन् र किसानलाई फाइदा दिन्छ । अहिले हामीले केही क्षेत्रमा व्यावसायिक माछाखेती गरिए पनि त्यसको उत्पादन र उत्प कम छ । आधुनिक प्रविधिको प्रयोग गरी हालको उत्पादनमा तीन गुणा बढाउन सकिन्छ, अनि बल्ल युवाहरू यस क्षेत्रमा आकर्षित हुन सक्छन् । स्वदेशमै बस्न चाहने युवालाई माछा व्यवसायले रोजगारी र आम्दानीका हिसाबले राम्रो विकल्प दिनसक्नपर्छ ।
आत्मनिर्भरका हिसाबले नेपालमा माछाको माग कति हो र अहिले अवस्था के छ ?
नेपालीले औषतमा चार किलोभन्दा कम वार्षिक प्रतिव्यक्ति माछा खाइरहेका छौँ । संसारको औषतसम्म पुर्याउन हामीले पाँच गुणा बढाउनुपर्छ । माछा पाल्ने क्षेत्र बढाउन बाँझो जमिनमा पोखरी खन्न पर्यो । उत्पादकत्व बढाउन कार्प माछामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । चाँडो बढ्ने जातहरू जस्तो टिलापिया र पङ्गासको खेती गर्नुपर्छ । माछामा प्रोटिन, भिटामिन र अन्य पौष्टिक तत्वहरू प्रशस्त पाइन्छ । हप्तामा कम्तीमा दुई तीन पटक माछा खाएपछि स्वस्थ्य होइन्छ । सरकारी तथ्याङ्कअनुसार नेपालमा बर्सेनि जम्माजम्मी एक लाख १३ हजार टन माछा उत्पादन हुन्छ । करिब १० हजार टन खास गरी पङ्गास र रहु भारतबाट आयात हुन्छ । केही माछा नर्बे, भियतनाम र अरु देशबाट पनि आयत गरिन्छन् । संसारभर करिब ६०० जातका व्यावसायिक माछाका जात पाइन्छ । जमिनमा हुने कीरा फट्याङ्ग्राभन्दा पानीमा हुने माछालगायतका जीवजन्तु धेरै हुन्छन् । तराईका केही जिल्लाबाट माछा भारतमा पनि निर्यात हुन्छ किनभने उत्तरप्रदेश र विहारमा तेती माछापालन छैन । त्यसकारण तराई क्षेत्रमा प्रशस्त माछा उत्पादन गर्नसके भारत निकासी गरेर किसानले मनग्य आम्दानी गर्न सक्छन् ।
जलवायु परिवर्तनबाट नेपालको माछा उत्पादनमा कस्तो असर पारेको छ ?
जलवायु परिवर्तनको असरजस्तै खडेरीले खोलानाला र तलाउ सुक्यो, पानी कम भयो भने पक्कै पनि असर पर्छ । माछाको लागि बनाएको पोखरीबाट जलवायु परिवर्तनको असर कम गर्नमा मद्धत मिल्छ । पोखरीको वरपर बाख्रा, कुखुरा, सुँगुर, बङ्गुर, हास, खुकुरा पालन तथा केराखेती, फलफूल, तरकारी र धान उब्जनी गरेर दोहोरो लाभ लिन सकिन्छ । माछामा खासगरी ब्याक्टेरिया र भाइरस तथा प्यारासाइट वा जुम्राजस्ता रोग लाग्छ जसले गर्दा माछा मर्न सक्छ । पोखरीमा धेरै माछा हालियो तर पानी कम भयो भने अक्सिजनको अभाव भएमा पनि माछा मर्न सक्छन् । माछाको खेती बढाउन सबै समुदायको भूमिका रहन्छ । बर्सातको खहरेका पानी रोकेर राखेर पोखरी बनाउन सकिएमा माछा पालनमा सहयोग पुग्छ । हाम्रा कोशी, कर्णाली, गण्डकीजस्ता सबै नदीमा माछा छन् । विद्युत्का लागि बाँध पूरै क्षेत्रमा बनाइएमा माछा खेल्ने र ओहोरदोहोर गर्ने बाटो बन्द हुनसक्छ । नदी नालाको कुनै माछा चिसो पानीमा बस्छन अनि अण्डा पार्ने बेलामा समुद्रतर्फ जान्छन् । कोही समुद्रबाट फूल पार्न चिसो पानीमा आउँछन् । त्यस्तो ओहोरदोहोरो हुन्छ । विद्युत् उत्पादनका लागि बनाइएका बाँधहरूले गर्दा त्यो रोकियो र अण्डानै पार्न नपाएपछि माछा स्वतह घट्छ नै । नदीमा माछा घट्ने यो एउटा मुख्य कारण हो ।
माछा पालनमा सफल अभ्यास र समुदाय कुन हुन् ? नेपालमा माछापालनमा देखिएको चुनौती के हो ?
नेपालमा माछासँग अलि बढी जोडिएको समुदाय भनेको माझी, कुमाल, जलारी, बोटे, थारु आदि हुन् । उनीहरूको पाहुना आउँदा अनिवार्य माछा खुवाउनुपर्ने चलन छ । नेवारको पनि विभिन्न चाडबाडमा माछाको प्रयोग गरेको देखिन्छ । नेपालमा माछाको अध्ययन अझै जरुरी छ । नदीमा विष हालेर तथा विद्युतीय तारको प्रयोग गरेर माछा मारिँदा कतिपय नेपाली पहिचानको रूपमा रहेका महत्त्वपूर्ण माछाका प्रजाति नष्ट हुन्छ । नेपालका नदीमा कति माछा छ भन्ने यकिन तथ्याङ्क र पहिचानको चुनौती छ । नेपालमा नयाँ प्रजाति पत्ता लगाउने कार्य कीर्तिपुरको जियोलोजी विभागले गरेको छ । त्यस्तै, माछा खेतीसम्बन्धी पढाइ, अनुन्धान र प्रसारप्रसार भने रामपुर क्याम्पस, नार्क र पशुपन्छी मन्त्रालय अन्तर्गतका कार्यालयबाट हुन्छ । बेरोजगार घटाउने, स्वास्थ्यमा फाइदा पुर्याउने र आर्यआर्जन बढाउने हेतुले माछापालन कार्यक्रम अघि बढाइएको छ ।
नेपालमा जलीय कृषिको कसरी विस्तार भएको छ ?
सुरुमा १९८०/८१ मा नेपालले एसियाली विकास बैंकसँग ऋण लिएर माछापालनको व्यावसायिक उत्पादन कार्य सुरु गरिएको हो । ‘केज कल्चर’ भनेर पोखराको फेवा र बेगनास ताल तथा इन्द्रसरोवरमा सुरु गरियो । रूपन्देही, बारा, पर्सा चितवनको माडी क्षेत्रमा माछापालन गर्ने व्यावसायिक समूह छन् । नीति निर्माण काठमाडौँबाट हुने कार्यक्षेत्र भने तराई हुँदा पनि केही समस्या भएको छ । माछापालनका सफल उदाहरण प्रस्तुत गरी यसको विकासमा सामाजिक सञ्जालले पनि प्रोत्साहन गरेको छ ।
थाइल्याडको माछापालनमा सरकारी सहयोगको तुलनामा नेपालमा कस्तो छ ?
त्यहाँका किसान आफैँ आत्मनिर्भर छन् । उपयुक्त हावापानी छ । नेपालमा भने सरकारले यसलाई प्रोत्साहन गरेर जानुपर्छ । यहाँको हिमाली तथा पहाडी क्षेत्रमा जाडो याममा चिसोले माछा मर्न सक्छ । तथापि नेपालका चिसो पानीका माछा मिठो हुन्छ । भारतभन्दा धेरै सानो मुलुक भए पनि थाइल्याण्डले वार्षिक आठ अर्ब डलर भारतकै बराबर कमाउँछ । समग्र कृषिमा अगाडि छ । नेपालमा पर्याप्त माछा उत्पादन गर्ने हो भने भारतका उत्तर प्रदेश र विहार निकासी हुन्छ ।
सीमापार नदी प्रणालीअन्तर्गत नेपाल–भारत माछाको ओहोर–दोहनेर हुन्छ ?
चीनसँग धेरै नदी जोडिएको छैन । नदी प्रवाह खुल्ला रहने भएकाले भारतको गङ्गामा मिसिने हुनाले आउने र जाने सन्दर्भ चल्छ । त्यो हिसाबले नेपालका माछा भारत र भारतबाट नेपाल आउँछन् । त्यसले फाइदा पनि गर्छ र स्थानीय जात लोप हुन पनि सक्छ । माछा लोप भएर जाने विभिन्न कारण छ । बालीनालीमा प्रयोग हुने विषादी बगेर नदीमा जाने भएकाले असर गर्छ । खोला र नदीमा रहेका माछाको संरक्षणका लागि ठुलो कार्यक्रम बन्नुपर्छ । कुनै माछा लोप हुँदैछ भने भुरा उत्पादन गरेर नदीमा छाड्ने चलन छ तर यो त्यति भएको छैन ।
खाद्य सुरक्षामा माछाको योगदान के–कस्तो छ ?
माछा मानिसको शरीरका लागि स्वास्थ्यकर तथा पोषणयुक्त खाना हो । यो सजिलैसँग पच्छ अनि सबै उमेर समूहलाई राम्रो गर्छ । अन्य मासुको तुलनामा चिकित्सकले पनि माछा खान सिफारिस गर्छन् । मानिसको शरीरलाई चाहिने धेरै पौष्टिकतत्व माछाबाट प्राप्त गर्न सकिन्छ । कति मानिसले नबुझेर माछा खाइरहेको छैन । काँडाको भय पनि उस्तै छ । खसीको मासु महँगो छ, कतिपय ठाउँमा खसीको मासु एक किलो किन्ने पैसाले माछा चार किलोसम्म आउँछ । खाद्य सुरक्षामा धेरै ठुलो माछाको योगदान छ । मानिस धान उत्पादनलाई जोड दिन्छ, तर त्यही खेतमा माछा उत्पादन गर्यो भने धेरै आम्दानी हुन्छ । अहिले मुलुकमा रहेको बाँझो जमिनमा माछा खेती गरिए युवा पलायन रोक्न र रोजगारी दिलाउन सकिन्छ । नेपालमा भात र आलु धेरै खाने गरिन्छ भने विदेशमा खासगरी थाइल्याण्ड, भियतनाम, जापान र कोरियामा माछालगायतका वस्तु धेरै खाने भात भने थोरै खाने चलन छ ।
माछाका उपभोक्ता र व्यवसाय गर्ने किसानलाई यहाँको केही सन्देश छ ?
चिकित्सकले कतिपय अवस्थामा रातो मासु खानु हुन्न भनिरहेको बेला आमनेपालीलाई माछा महत्त्वपूर्ण खुराक बन्न सक्छ । विश्वमै विस्तारै माछाप्रति आकर्षण बढेको छ । बाहिरबाट आयातितभन्दा स्थानीयलाई जोड दिनुपर्छ । माछा व्यवसाय गर्ने युवालाई प्रविधिसम्बन्धी जानकारी र तालिम दिन र बजारको व्यवस्था गर्नुपर्छ । युवाहरूमा इच्छा हुनपर्यो । त्यसका लागि विशेषज्ञसँग परामर्श गर्नुपर्छ । जसबाट धेरै लाभ प्राप्त गर्न सकियोस् । व्यवसाय गर्नुअघि कार्यक्रम र योजना बनाउनुपर्छ । माछा पालनका लागि सरकारले सहयोग र बैंकले सहुलियत कर्जा दिन्छ । किसानले त्यसको उचित सदुपयोग गर्नुपर्छ । माछापालन गरेर कयौँ नेपाली पर्यटकका रूपमा विदेश भ्रमण गएका उदाहरण छन् । विदेशमा काम गरेर फर्ककाले पनि माछा पालन गरेका छन् र योप्रति आकर्षण छ । त्यसैले पछिल्लो समय माछा व्यवसाय नेपालमा फस्टाउँदो छ । –रासस