झापा, २१ कात्तिक । शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ ।
आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।
खेलको ७०औँ मिनेटमा पुलिस क्लबले खेलमा अग्रता बनाएको थियो । पुलिस क्लबकी मीना देउवाले सटिक हेडमार्फत पहिलो गोल गरेकी थिइन् । यसपछि ८२औँ मिनेटमा पुलिस क्लबकै रेखा पौडेलले दोस्रो गोल गरिन् ।
खेलको प्लेयर अफ द म्याच पुलिस क्लबकी रेखा पौडेल भइन् । उनले नगद १५ हजार रूपैयाँ र ट्रफी पाइन् । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रूपैयाँ, उपविजेताले पाँच लाख रूपैयाँ प्राप्त गर्नेछन् । दुई–शून्य गोलको जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने सङ्कटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
शनिबार एपिएफ र त्रिभुवन आर्मी क्लबबीच सेमिफाइनलको अर्को प्रतिस्पर्धा हुनेछ ।