जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

3

महेन्द्रनगर, २१ कात्तिक । कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ । बितेको नौ वर्षमा कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ ।

यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताउनुभयो । हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । “मृत्यु भएका प्रतिव्यक्ति १० लाख रूपैयाँका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ”, अधिकृत भट्टराईले भन्नुभयो, “घाइतेहरुको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ ।”

पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जङ्गली हात्तीले नोक्सान पुर्‍याउँदै आएका छन् । जङ्गली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धवाउन खटिन गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिनुभयो । “यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्”, उहाँले भन्नुभयो, “तुलनात्मक रुपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जङ्गली हात्तीको आवातजावत बढी देखिएको छ ।”

उहाँले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...