चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

1

काठमाडौँ, २१ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । बिहीबार मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनमा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सिनेमा समाजको ऐन पनि हो । देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको ‘कन्टेन्ट’ र ‘स्कृष्ट’ बालियो, सन्देशमूलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ ।”

मन्त्री खरेलले सिनेमाको कथावस्तु, समय सुहाउँदो दर्शकमैत्री तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाउनुभयो । मन्त्री खरेलले भन्नुभयो, “देश, जनता र चलचित्रको हितमा हुने कुनै पनि कामको लागि मन्त्रालयकोतर्फबाट साथ सहयोग रहनेछ । मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजन ल्याउनुस् मन्त्रीकोतर्फबाट कुनै पनि फाइल रोकिने छैन ।”

सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा तत्काल सही व्यक्ति ल्याउन निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो, “सेन्सर बोर्ड र विकास बोर्डसँग समन्वय गरी तत्काल ‘राइट म्यान इन राइट प्लेस’ ल्याउनुस् ।”

उहाँले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षालगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले चलचित्रकर्मीले उठाएको सेन्सर, ड्रोन, विदेशी सिनेमा छायाङ्कनलगायत विषय अन्तरमन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशले चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकारले सिनेमा हल नपुगेका जिल्ला वा सहरमा नयाँ हल निर्माणका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभयो । उहाँले चलचित्र ऐन तथा विधेयक परिमार्जन, चलचित्र कल्याणकारी कोष र राष्ट्रिय स्टुडियो निर्माणमा सरकारी सहयोग र सेन्सर प्रणालीलाई सरल र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले कर्णाली प्रदेशभरमा एउटा मात्र सिनेमा हल रहेको विषयलाई उठान गर्दै हलको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो । कलाकार दीपकराज गिरीले हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा कलाकर्मीको विगतदेखि वर्तमानसम्मको योगदानको विषयलाई अतिरञ्जित बनाइन नहुनेमा जोड दिनुभयो । कलाकार केदार घिमिरेले जेनजी आन्दोलनपछि कलाकारले विभिन्न आरोप लगाइने गरेको भन्दै स्वतन्त्र कलाकारमाथि भइरहेको प्रहार बन्द हुनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले प्रतिनिधि अधिकार ऐन कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । कलाकार जितु नेपाल, निर्देशकद्वय प्रदीप भट्टराई र सरोज पौडेल, नायक प्रदीप खड्काले सेन्सरलाई खुकुलो बनाउनुपर्नेमा जोड दिनुभयो । छायाङ्कार विष्णु कल्पितले ड्रोन चलाउन र विदेशी चलचित्र छायाङ्कनलाई सहज बनाइनुपर्ने औँल्याउनुभयो ।

नेपाली चलचित्र क्षेत्रका शीर्ष कलाकार, निर्देशक, निर्माता र सङ्घसंस्थाका प्रतिनिधिले सञ्चारमन्त्री खरेलसँग मन्त्रालयमा अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा कलाकार केदार घिमिरे, दीपकराज गिरी, जितु नेपाल, प्रदीप खड्का, नीति शाह, रामकृष्ण ढकाल, शिव श्रेष्ठ, रविन्द्र खड्का, सुरेश अधिकारीलगायतका चर्चित कलाकारको उपस्थिति थियो । साथै निर्देशक दीपेन्द्र के खनाल, दिनेश राउत, जनक खड्का, पुष्कर लामा र नरेन्द्र महर्जन पनि सहभागी हुनुहुन्थयो । –रासस

Share This:
सम्बन्धित खबर
Loading...