कांग्रेस नेताहरु भन्छन्– नियमित महाधिवेशनले मात्र जेनजी पुस्ताको भावना समेट्छ

0
  • रस्मिता गिरी

काठमाडौँ, २० कात्तिक । नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमिति महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।

सरकारले फागुन २१ गते निर्वाचनको लागि मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयम अन्योलमा छ । बिहीबार काठमाडौँको बत्तीसपुतलीमा भेला भएका कांग्रेस नेताहरुले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले १५औँ महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको प्रक्रिया सुरु गर्नुपर्नेमा दबाब बढाएका छन् । कांग्रेस महासमिति सदस्य उपेन्द्र यादवले पार्टीभित्र फागुन २१ को निर्वाचनअघि कि पछि महाधिवेशन गर्ने भन्नेमा बहस चलिरहेको बताउनुभयो ।

महाधिवेशनका सन्दर्भमा पार्टीभित्रै फरक मत आएकाले केन्द्रीय समिति बैठकले यो विषयलाई एउटा आधार दिएर टुंग्याउनुपर्ने सुझाव दिनुभयो । बिहीबारको भेला निर्वाचन केन्द्रित भएर जानुपर्छ भन्नेमा रहेको उहाँले जानकारी दिनुभयो ।

यादवले हाल मुलुकमा भएका समस्याहरु समाधान गर्नका लागि पार्टीको तयारी, भावी एजेण्डा, कार्यक्रम तय गरेर केन्द्रीय बैठकले ठोस निर्णय दिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिक र राष्ट्रिय परिस्थितिले साथ नदिएमा समयवधि थपेर महाधिवेशन सम्पन्न गराउने कुरा विधानमै व्यवस्था रहेको औँल्याउनुभयो ।

उहाँले अहिले अधिवेशनको विषयलाई लिएर अनावश्यक बहस गर्ने नभइ एकताबद्ध भएर सबै नेताहरुले साझा एजेण्डा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । जेनजीले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

त्यस्तै, महाधिवेशन प्रतिनिधि कमला हमालले कांग्रेस पार्टी ठुलो भएकाले फरक फरक विचार राख्नेहरुको संख्या पनि ठुलो हुने भएकाले महाविधेशनका सन्दर्भमा तर्क वितर्क हुनु जायज भएको बताउनुभयो ।

त्यस्तै, नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य अनिल भोजुले निश्चित समय तालिकाभित्रै रहेर कुनैपनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै समयमै महाधिवेशन नभए केन्द्रीय समिति भंग गर्नुपर्ने बताउनुभयो ।

उहाँले केन्द्रीय समिति भंग भएपश्चात् तदर्थ समिति गठन गरी त्यसमा ५० प्रतिशत युवा युवा पुस्तालाई समेटेर तदर्थ समिति गठन गरेर अधिवेशनमा जानुपर्ने औँल्याउनुभयो ।

उहाँले विशेष महाधिवेशनले कुनै पनि हालतमा नयाँ पुस्तालाई समेट्न नसक्ने बताउनुभयो । उहाँले जेनजीहरु समेटेर अब १५औँ महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्ता र पुराना दुवै पुस्ता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै, महासमिति सदस्य नवीन राईले हालको परिवर्तन सँगसँगै पार्टीको अधिवेशन र संगठनात्मक संरचनाका कुराहरूलाई पूर्णता दिनका तत्काल काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले केही नेताहरुले विशेष महाधिवेशन गर्नुपर्छ भनेता पनि नियमित महाधिवेशनमा नै जानपर्ने आफ्नो माग रहेको बताउनुभयो । उहाँले नियमित महाधिवेशनका कारण वडादेखि केन्द्रसम्म नयाँ व्यक्तिहरु जोडिने भएकाले जेनजीको भावनासमेत जोडिने बताउनुभयो । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...