झापा महिला गोल्डकप : पाहुना टोलीविरुद्ध एपिएफको गोल वर्षा

8

झापा, १८ कात्तिक । शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा आज भएको खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँ विजयी भएको छ ।

एपिएफले पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै एपिएफ टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले खेलको २९औँ मिनेटमा सविता राना मगरको पहिलो गोल र ३८औँ मिनेटमा अनिता बस्नेतको दोस्रो गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थपेको थियो भने ४१ औँ मिनेटमा एपिएफकी रश्मीकुमारी घिसिङले र इन्जुरी समयमा अनिता बस्नेतले अर्को गोल थपेकी थिइन् । पहिलो हाफमै एपिएफले पाँच गोलका साथ अग्रता लिएको थियो ।

दोस्रो हाफमा एपिएफकी अनिता केसीले ७१औँ मिनेटमा र ८४औँ मिनेटमा रश्मीकुमारीले गोल थपेकी थिइन् । सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले यो हारलाई सिकाइ अनुभवका रूपमा लिएको बताइन् । “हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गर्नेछौँ”, उनको भनाइ थियो ।

खेलकी प्लेयर अफ द म्याच रश्मी घोषित भइन् । उनले नगद १५ हजार रूपैयाँ र ट्रफी प्राप्त गरिन् । बुधबार तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुने छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रूपैयाँ पाउने छ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रूपैयाँ पाउने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रूपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रूपैयाँ पुरस्कार पाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...