बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

5

चितवन, १८ कात्तिक । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुसी व्यक्त गरेका थिए ।

पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् ।

सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जिप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुसी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैँडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् ।

सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुसी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुसी हुन्छन् ।” ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउनुहुन्छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताउनुभयो । उहाँले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताउनुभयो ।

यस वर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...