१२ वर्षदेखि फुटबल प्रतिभा विकासमा हेटौँडा फुटबल एकेडेमी सक्रिय

4

मकवानपुर, १८ कात्तिक । मकवानपुरको हेटौँडा–४ हुप्राचौरस्थित हेटौँडा फुटबल एकेडेमीले विगत १२ वर्षदेखि जिल्लामा फुटबल प्रतिभा विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक भीम लामा फुटबलप्रति समर्पित व्यक्तिका रूपमा चिनिनुहुन्छ ।

बिहान ५ः३० बजेदेखि ८ बजेसम्म बालबालिकालाई र ८ बजेदेखि १० बजेसम्म युवाहरुलाई नियमित रूपमा प्रशिक्षण दिँदै आएका लामाले फुटबललाई आफ्नो जीवनको प्रमुख लक्ष्यका रूपमा अघि बढाउनुभएको छ । एकेडेमीमा १४ वर्षमुनिका बालबालिकालाई हप्तामा पाँच दिन र १४ वर्षभन्दा माथिका खेलाडीलाई हप्तामा छ दिन तालिम गराइन्छ भने दैनिक ५० देखि ६० जना प्रशिक्षार्थी उपस्थिति रहने गर्दछन् ।

वर्षायाममा यातायात समस्याका कारण सहभागी संख्या घट्ने गरेको प्रशिक्षक लामाले बताउनुभयो । खेलाडीहरू प्रतियोगिताको तयारीमा रहेका बेला ट्याक्टिकल र ड्रिल गेम तालिम दिइने तथा अन्य समयमा आधारभूत सीप, डिफेन्सिङ, डिफेन्डिङ र आक्रमण अभ्यास गराइने गरिएको छ ।

खेलपछि खेलाडीको प्रदर्शन विश्लेषण गरी सुधारात्मक तालिम दिने एकेडेमीको पद्धतिले खेलाडीको व्यक्तिगत क्षमतामा उल्लेखनीय सुधार भएको बताइन्छ । हुप्राचौरमा केन्द्रित रहेर तालिम सञ्चालन गरिरहे पनि लामाले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र हेटौँडा–८ कमानेका खेलाडीलाई समेत प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ ।

सरकारी निकाय र जिल्ला फुटबल संघबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै प्रशिक्षक लामाले फुटबलमार्फत् देश विकासमा योगदान दिन सकिन्छ भन्ने सोचले आफू निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

आफ्नै लगानी र शुभेच्छुकहरूको सहयोगमा प्रशिक्षण पाएका खेलाडीलाई विभिन्न जिल्लाका प्रतियोगितामा सहभागी गराउँदै आउनुभएका लामाले खेलाडीहरू जिल्ला तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै अनुभव र आत्मविश्वास बढाइरहेको बताउनुभयो । स्थानीय सरकारले खेलकुदमा प्राथमिकता दिए फुटबलमा बिना राजनीतिक प्रभावको क्रान्ति ल्याउन सकिने उहाँको भनाइ छ ।

चुनौतीबीच पनि खेलाडीहरूबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उहाँले बताउनुभयो । सीमित स्रोत र सहयोग अभावका बीच प्रशिक्षक भीम लामाले हेटौँडा तथा मकवानपुरका युवालाई फुटबलको उज्यालोतर्फ प्रेरित गर्दै भविष्य निर्माणमा निरन्तर जुटिरहनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...