काठमाडौँ, १७ कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (एमाले)बाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताउनुभएको छ ।
सोमबार नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित सम्वाद कार्यक्रममा उहाँले घरबाट बाहिर गएका सन्तानलाई घर आउछुभन्दा अनुमति लिनु नपर्ने भन्दै एमालेबाट अलग भएकाहरुलाई आफ्नै घर फर्किनका लागि कुनै एकता गरिरहन नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेकपा (एमाले)बाट अलग भएका साथीहरुको सन्दर्भमा केन्द्रीय कमिटिको बैठकबाट नै निर्णय गरेका छौँ । आफ्नै घर फर्किने हो, आफ्नै घर फर्किनका लागि कुनै एकता गरिरहनु पर्दैन । घरका सन्तान बाहिर गएपछि घर आउछुभन्दा अनुमति लिनुपर्छ, पर्दैन । आउँदा क्षमताअनुसार पार्टीले जिम्मेवारी दिन्छ ।”
यस्तै, उहाँले माओवादी केन्द्र, एकीकृत समाजवादी आदि पार्टीहरु एक हुन लागेको कुरामा आफू खुसी रहेको बताउनुभयो ।
“माओवादी, एकीकृत समाजवादी आदी पार्टीहरु एक हुन थाले भन्ने कुरा छ । खुसी नै छु । किनभने बलियो राजनीतिक दलमा विश्वास गर्ने मान्छे हुँ । तर, उद्देश्य स्पष्ट नभएसम्म जति नै पार्टी मिले पनि केही हुँदैन । विचारमा एक रुपता हुन्छ भने अलग अलग बस्नु फाइदा छैन । विचारमा एक रुपता नभएकाहरु एक ठाँउमा बस्नु भनेको आन्दोलन समाप्त पार्नु हो । के हुन्छ भन्ने भविष्यको कुरा हो ।”
साथै, उहाँले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा आयोजना गर्ने भन्दै त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मंसिर २७, २८ र २९ गते पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आयोजना गर्दै छौँ । अहिले नेपाली जनता प्रमुख पार्टीबाट टाढा भएका छन् भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ त्यो गलत हो भन्ने हिसाबले २२ गते देशभर सबै वडाहरुमा एकसाथ वडास्तरीय जनभेलाहरु आयोजना गर्दै छौँ । २५ गते पालिकाहरुमा जनर्यालीहरु आयोजना गर्दै छौँ, २९ गते जिल्लाहरुमा जनसभा आयोजना गर्दै छौँ । काठमाडौँको हकमा ६ गते उपत्यकास्तरीय र्याली तथा सभाको आयोजना गर्दै छौँ र २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा आयोजना गर्ने छौँ । त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहन्छौँ ।”