काठमाडौँ, १७ कात्तिक । सरकारले गत भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
गृह मन्त्रालयअन्तर्गत सहसचिव नेतृत्वमा रहेको समिति र विभिन्न जिल्ला प्रशासन कार्यालय, सरोकार भएका, सुरक्षा निकाय सबैतिरबाट आएको अध्ययनका आधारमा हाल ४५ जनालाई सहिद घोषणा गरिएको उहाँले बताउनुभयो । अन्य मृतकबारे अध्ययन भइरहेको र त्यसबाट निक्र्यौल भएअनुसार निर्णय गरिने मन्त्री खरेलले बताउनुभयो ।
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको इलाम जिल्लाका प्रभावित स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोक्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन–सत्य निरुपण मेलमिलाप कोष सञ्चालन नियमावली २०८२ स्वीकृतसमेत गरेको छ ।