काठमाडौँ, १७ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताउनुभएको छ ।
सोमबार अपरान्ह सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्री पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।
उहाँले भन्नुभएको छ, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम् परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।”
नयाँ राजनीतिक दल खोल्न मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने आसयका समाचारहरुप्रति घिसिङले प्रष्टीकरण दिनुभएको हो ।