रोग नै सबैभन्दा ठुलो शत्रु हो, रोग पालेर कसैले नबसौँ : जुना दानी

7

बाजुरा, १७ कात्तिक । सुदूरपश्चिम प्रदेशसभा सदस्य जुना दानीले रोग नै सबैभन्दा ठुलो शत्रु भएको बताउनुभएको छ । आइतबार जिल्ला अस्पताल बाजुरामा निःशुल्क हाडजोर्नीसम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मानिसले सहज रुपमा जीवन जिउन सबैभन्दा पहिला उसलाई स्वस्थ्य शरीर आवश्यक हुनुपर्ने बताउँदै उहाँले कसैले पनि रोग पालेर बस्न नहुने बताउनुभयो । स्वास्थ संवेदनशील क्षेत्रभित्र पर्ने भएकाले स्वास्थ्य क्षेत्रलाई गम्भीरतापूर्वक हेर्नुपर्ने कुरामा दानीले जोड दिनुभयो ।

व्यक्तिसँग धनदौलत, ऐशआराम जति भए पनि जब शरीर नै रोगी छ भने त्यसले जीवनभर सताइरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति बिरामी अर्थात् रोगी छ भने त्यो कहिल्यै तृप्त हुन सक्दैन । न उसले देशदुनियाँ घुमेर रोमाञ्चक गर्न सक्छ नत सहज जीवन जिउन । त्यसैले मानिसको सबैभन्दा ठुलो शत्रु भनेकै रोग हो ।”

“मानिसका लागि सबैभन्दा ठुलो उपलब्धि भन्नु नै निरोगी हुनु हो । निरोगी रहनुजस्तो आनन्द अरू केही हुन सक्दैन । त्यसैले रोगलाई परास्त गरी निरोगी जीवन जिउन आवश्यक छ । रोग नै त्यस्तो शत्रु हो, जसले हामीलाई खान दिन्छ, न सुत्न दिन्छ । जीवन नै नर्क जस्तो बनाइदिन्छ,” दानीले बताउनुभयो ।

साथै उनले बाजुरा जस्तो दुर्गम तथा पीछडिएका ठाउँमा निःशुल्क स्वास्थ शिविर सञ्चालन हुनु खुसीको कुरा रहेको समेत बताउनुभयो । शिविरबाट प्रदान गरिने हरेक सेवा लिन सम्पूर्ण बाजुसाबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आग्रह दानीले गर्नुभयो ।

निःशुल्क स्वास्थ शिविर सञ्चालनबाट यहाँका गरिब, दुःखी, उपचार नपाएका व्यक्तिहरुका लागि शिविर वरदान सावित बन्ने अपेक्षा लगिएको समेत उहाँले बताउनुभयो । दुर्गमका नागरिकलाई सेवा दिन सहयोग गर्ने नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँका वरिष्ठ हाडजोर्नी विशेषज्ञहरुलाई धन्यवाद समेत दिनुभयो ।

२१ गतेसम्म सञ्चालन हुने उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । ४७औँ वर्षदेखि गैरनाफामूलक सेवा दिँदै आएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न, असहाय, विभिन्न रोगबाट ग्रसित बिरामीहरुलाई सहज रुपमा सेवा दिँदै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...