काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले नयाँ पुस्ताले पुराना उपलब्धिलाई ग्रहण गर्दै देशको राजनीतिक र आर्थिक जगलाई थप बलियो बनाउन अघि बढ्नुपर्ने राय व्यक्त गर्नुभएको छ ।
रास्वपाद्वारा आज यहाँ आयोजित ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकको बृहत् राजनीतिक संवाद कार्यक्रममा उहाँले जेनजीलाई आग्रह गर्दै अग्रगमनका लागि विगतका उपलब्धिलाई अझ समृद्ध बनाउँदै आर्थिक मुद्दा अघि बढाउन सकिने धारणा राख्नुभयो ।
वाग्लेले जेनजी आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइसँगै सिङ्गो देशको अग्रगमनबारे भएको छलफल उपलब्धिमूलक भएको बताउनुभयो ।
उहाँले राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “पुरानो ‘लिगेसी’ ग्रहण गर्नुपर्छ । हामीभन्दा अघि, पुराना उपलब्धिलाई ग्रहण गर्दै त्यसमा इँट्टा थप्दै जगलाई मजबुत बनाउँदै जाने हो । अघि बढ्ने हो पछि जाने हैन”, उहाँले भन्नुभयो ।
संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी, विवेकशील साझा पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जेनजी समूहका प्रतिनिधिहरु र अभियन्ताहरुको सहभागिता रहेको थियो ।
 
			 
				 
		