‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार

8

म्याग्दी, १४ कात्तिक । धौलागिरि चक्रिय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी पर्यटकसहित १५ जनाको आज सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा सोमबार रातिदेखि भएको हिमपातले पदमार्ग पुरिएपछि १२ नेपाली र तीन जना बेलायतका पर्यटकहरू फसेका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जोमसोमबाट गएका सुरक्षाकर्मी र हिडन भ्यालीबाट आएका पर्यटकहरू समुन्द्री सतहदेखि चार हजार ९०० मिटर उचाइमा रहेको बतासे डाँडामा भेटेर जोमसोम ल्याइएको जानकारी दिनुभयो ।

“पर्यटकलाई पदयात्रामा पठाएको कम्पनीले समस्यामा परेको भन्दै उद्धारका लागि अनुरोध गरेपछि बुधबार सुरक्षाकर्मीको टोली पठाएका थियौँ”, उहाँले भन्नुभयो “पर्यटक, पथप्रर्दशक र पर्यटक मजदुरहरूको उद्धार गरिएको छ ।”

काठमाडौँको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीमार्फत् पदयात्रामा गएका बेलायतका पर्यटकले हिँड्न गाह्रो पर्ने भएकाले मङ्गलबार साँझ सम्बन्धित कम्पनीमार्फत हेलिकोप्टरबाट उद्धारको व्यवस्था मिलाउन अनुरोध गरेका थिए । मेरी रेप्स, क्याथोरिन विल्सन र इमिली कोट्स नाम गरेका बेलायतका महिला पर्यटक पदयात्रामा गएका थिए ।

पथप्रर्दशकले स्याटेलाइट फोनमार्फत उद्धारको अनुरोध गरेका प्रजिअ भुसालले बताउनुभयो । जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त विष्टको नेतृत्वमा १५ जना तालिम प्राप्त सुरक्षाकर्मीलाई उद्धार कार्यमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...