‘मन्था’ आँधीको प्रभावका कारण नेपालको उच्च हिमाली भेगमा हिमपात, धेरै क्षेत्रमा झरी हुन सक्छः मौसमविद् पौडेल [भिडिओ]
- मनिषा बस्नेत
काठमाडौँ, १२ कात्तिक । अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ ।
बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भए पनि त्यसको असर नेपालसम्म पुग्ने संकेत देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मन्था आँधीको कारण आगामी केही दिन नेपालभर वर्षा र बादलयुक्त मौसम रहने सम्भावना छ ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उहाँले भन्नुभयो, “बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हिजो बेलुकादेखि नै प्रवेश गरिसकेको मन्था नाम गरेको आँधी पश्चिमतिर आइरहेको अवस्था छ । बिस्तारै अब उत्तरतिर सर्ने क्रममा हाम्रो नेपालतिर पनि त्यसको बादलहरू बेलुकाबाट देखिन सक्ने देखिन्छ । त्यसकारणले भोलि–पर्सी या शनिबारसम्म नेपालभरको मौसम बढी प्रभावित हुने देखिएको छ ।”
मन्था आँधीको प्रभावले आगामी केही दिन विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद् पौडेलले बताउनुभयो ।
उहाँका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। “विशेष गरेर कोशी, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागहरूमा बदली हुने, धेरै स्थानमा वर्षा हुने, कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ,” उहाँले भन्नुभयो, “उच्च हिमाली भू–भागमा हिमपात पनि हुन सक्ने देखिएको छ ।”
उहाँले विशेषगरी मधेस प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै कोशी प्रदेशको पहाडी भू–भागमा पनि भारी वर्षा र धेरै ठाउँमा मध्यम वर्षा पनि हुन सक्ने बताउनुभयो । उहाँले धेरै स्थानहरुमा हिमपातको सम्भावना रहेको समेत बताउनुभयो ।
“कोशी, बागमती प्रदेशको उच्च हिमाली भू–भागहरू, त्यस्तै गण्डकी प्रदेशको उच्च हिमाली भू–भागहरूमा केही स्थानमा भारी हिमपात छ भने, केही स्थानमा मध्यम हिमपात हुने देखिएको छ,” पौडेलले भन्नुभयो ।
विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
उहाँले समग्रमा शनिबार बिहान वा दिउँसोदेखि मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने देखिएको बताउनुभयो ।
हिमाली क्षेत्रमा हिमपात भएको कारणले चिसो हावाको महसुस हुनुका साथै उहाँले पछिल्ला चक्रवातका कारण मौसम बदली रही तापक्रम पनि घटेको बताउनुभयो ।
“चिसो कुरा गर्दाखेरि मनसुनपछिको समयमा बिस्तारै दिउँसोको दिन छोटो हुँदै जाने रात लामा हुँदै जाने हुन्छ । चक्रवातको कारणले बदली भयो तापक्रम दिउँसोको बढ्न पाएको छैन बीचमा पानी पनि परेको छ। कतिपय हिमाली क्षेत्रमा हिमपात पनि भएको कारणले गर्दाखेरि केही चिसो हावाको पनि महसुस भएको छ,” उहाँले भन्नुभयो ।
उहाँले बिहीबार मनाङ–मुस्ताङमा हिमपात हुन सक्ने सम्भावना रहेको भन्दै बिहीबारको हकमा सावधानी अपनाउनु पर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेश, बागमती, कोशी प्रदेशको खुम्बु क्षेत्र, गोक्यो क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम पूर्वानुमानमा देखिएको बताउनुभयो ।
उहाँले पदयात्रामा गएका यात्रुहरुलाई सुरक्षित भएर बस्नका लागि आग्रह समेत गर्नुभयो ।
बिहीबार मौसम धुम्म भइ शुक्रबार झरी पर्ने अवस्था रहेको जानकारी दिँदै उहाँले काठमाडौँलगायत मधेस र कोशी प्रदेशमा झरी र हिमाली भेगमा हिमपात हुनसक्ने बताउनुभयो ।
उहाँले आइतबारदेखि मौसम सफा हुने भन्दै त्यसअघि किसानहरुको लागि धान नकाट्न समेत आग्रह गर्नुभयो । उहाँले पश्चिम तराईका भू–भागहरु, कैलाली, धनगढीलगाउतका क्षेत्रमा ठुलो पानी पर्ने सम्भावना नभएको समेत जानकारी दिनुभयो । –नेपाल न्यूज बैंक