सोलुखम्बु, १२ कात्तिक । सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो । हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकोप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो । तर, समय बलियो थियो, यो दुर्घटनाले मानवीय क्षति भएन ।
आज बिहान ८ः१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकोप्टर लुक्लाबाट (४,९४० मिटर) लोबुचेतर्फ उडेको थियो । मङ्गलबार राति परेको बाक्लो हिमपातपछि त्यहाँ रोकिएका केही पर्यटकलाई उद्धार गर्न हेलिकप्टर त्यसतर्फ उडेको थियो । तर, लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा सतहमा जमेको हिउँले रनवे चिप्लियो, अनि हेलिकोप्टरको पुच्छर जमिनमा ठोक्कियो ।
“अवतरणकै क्रममा हेलिकोप्टर चिप्लिएर पछाडिको भाग क्षतिग्रस्त भएको हो”, प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भन्नुभयो, “तर, पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ, यो खुसीको खबर हो ।” उहाँका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर अहिले पनि सोही क्षेत्रमा छ ।
बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण तत्काल उद्धार सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । “हेलिकप्टर हिउँमा केही भाँसिएको छ, त्यसैले उडान सम्भव छैन,” उहाँले भन्नुभयो ।
दुर्घटनाको क्षणमा हेलिकोप्टरमा पाइलट खड्का एक्लै सवार हुनुहुन्थ्यो । उहाँलाई अर्को हेलिकोप्टरमार्फत् उद्धार गरी लुक्ला ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । “हामीले तत्काल उद्धारको व्यवस्था गरेका थियौँ, पाइलट सकुशल हुनु ठुलो राहत हो”, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भन्नुभयो ।
हिउँले ढाकिएको सगरमाथा क्षेत्रः पर्यटक होटलमा
मङ्गलबार रातिदेखि परेको लगातार हिमपातपछि सगरमाथा क्षेत्र सेतो चाँदरले ढाकिएको छ । दिङबोचे (चार हजार ४१० मिटर)माथि मात्र अहिले करिब ३३२ जना विदेशी पर्यटक रहेको प्रशासनले जनाएको छ । “ती सबै पर्यटक होटलभित्र सुरक्षित छन्”, प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो । मौसम अझै बिग्रिँदै गएकाले तल्लो क्षेत्रमा झर्नेहरूको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो ।
सगरमाथा क्षेत्रमा अहिलेको अवस्था ‘उच्च जोखिमयुक्त तर शान्त’ जस्तो देखिएको प्रहरी नायब उपरीक्षक कुँवरको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहानदेखि खुम्बु क्षेत्रमा सबै हेलिकोप्टर र विमान उडान रोकिएका छन् । मौसममा सुधार नआएसम्म कुनै उडान सम्भव नभएको जनाइएको छ । –रासस